वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य

आज २०७५ साउन ४ गते उपलब्ध केन्द्रीय समितिका सदस्यहरू सहित ने.क.पा. (मसाल)को केन्द्रीय कार्यालयको बैठक बस्यो । त्यो बैठकमा डा. गोविन्द के.सी.का मागहरू, उनको अनसन र त्यसबारे सरकारले अपनाएको नीतिबारे विस्तृत रूपले छलफल भयो । त्यो बैठक निम्नलिखित निष्कर्षमा पुगेको छ ।
१. डा. के.सी.का मागहरू माथेमा आयोगको प्रतिवेदन र राष्ट्रिय आवश्यक अनुसार छन् । त्यस कारण हाम्रो पार्टीले उनका मागहरू पूरा गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिन्छ ।
२. लामो अनसनका कारणले डा. के.सी.को जीवन सङ्कटको अवस्थामा पुगेको छ । त्यसकारण उनको प्राणको रक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । कुनै जोरजर्वजस्ती गरेर होइन, उनका न्यायपूर्ण मागहरूलाई स्वीकार गरेर नै उनको प्राण रक्षा गर्न सरकारले ध्यान दिनुपर्ने आवश्यकता छ । 
३. अहिले सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकले माथेमा आयोगका मूलभूत सिफारिसहरूलाई अस्वीकार गर्दछ । त्यसकारण त्यो विधेयकलाई फिर्ता गरेर माथेमा आयोगको सिफारिस अनुसार नयाँ विधेयक संसदमा पेश गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
४. डा. के.सी.का मागहरूका पक्षमा देशमा उठिरहेको आवाज र त्यसका लागि भइरहेको आन्दोलनसित ने.क.पा. (मसाल)ले ऐक्यवद्धता प्रकट गर्दछ ।
५. डा. के.सी.का मागहरू समेतका लागि ने.का.ले आन्दोलनको जुन घोषणा गरेको छ, त्यो उसका आफ्ना गलत प्रकारका राजनीतिक उद्देश्यहरूद्वारा निर्देशित छ । त्यसको त्यो आन्दोलनको उद्देश्य खालि सत्तासितको प्रतिस्पर्धा मात्र हो र, त्यसकारण, त्यो आन्दोलनलाई हामीले समर्थन नगर्ने कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ । त्यसैले हाम्रो पार्टी त्यसले आयोजना गर्ने आन्दोलनसम्बन्धी कुनै कार्यक्रममा सहभागी नहुने कुरा पनि हामीले स्पष्ट गर्न चाहन्छौँ । 
६. डा. के.सी.का मागहरूका पक्षमा र उनको जीवन रक्षाका लागि स्वास्थ्यकर्मी, नागरिक समाज, मानवअधिकारवादी आदिले गर्ने आन्दोलनहरूलाई हामीले दृढतापूर्वक समर्थन गर्दछौँ र आवश्यकतानुसार उनीहरूद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुने हाम्रो नीति हुनेछ ।
७. हाम्रो पार्टीको नजिकका मोर्चा, जनवर्गीय सङ्गठनका समिति वा सदस्यहरूले आफ्नो स्वतन्त्र पहलकदमीमा पनि डा. के.सी.का मागहरूका पक्षमा विभिन्न कार्यक्रमहरू वा सरकारका गलत नीतिहरूका विरुद्ध विरोध कार्यक्रमहरू आयोजना गर्न सक्नेछन् । हाम्रा विभिन्न मोर्चा वा जनवर्गीय सङ्गठनहरूद्वारा आयोजित आफ्ना कार्यक्रमहरूमा पनि हामीले डा. के.सी.का माग वा आन्दोलनका पक्षमा बढीभन्दा बढी विचारहरू लैजाने प्रयत्न गर्नु पर्दछ । देशका अन्य विभिन्न पक्षहरूसित पनि पारस्पारिक समझदारी वा सहमतिका आधारमा डा. के.सी.का मागहरूका पक्षमा संयुक्त कार्यक्रमहरूको आयोजना गर्ने हाम्रो नीति हुनेछ । 
८. सरकारले डा. के.सी.का मागहरूप्रति सकारात्मक दृष्टिकोण अपनाउनेभन्दा तिनीहरूप्रति बढी नकारात्मक दृष्टिकोण अपनाएको पाइन्छ । सरकारको त्यस प्रकारको नीति र कार्यशैलीलाई हाम्रो पार्टीले कडा शब्दमा आलोचना वा विरोध गर्दछ । 
९. डा. के.सी.को अनसनको क्रममा कुनै अप्रिय घटना घट्यो भने त्यसको जिम्मेवार सरकार नै हुनेछ र त्यसका लागि सरकारले कडा मूल्य तिर्नु पर्नेछ । त्यस प्रकारको कुनै अप्रिय घटना घट्यो भने इतिहासले वर्तमान सरकारलाई क्षमा दिने छैन ।

मिति ः २०७५ साउन ४ गते

मोहनविक्रम सिंह
महामन्त्री