वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com

वक्तव्य

आगामी चुनावका सन्दर्भमा देशका विभिन्न भागमा भइरहेका हिंसात्मक घटनाहरू प्रति ने.क.पा. (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । त्यस प्रकारका घटनाहरू बढ्दै गएमा अगामी चुनावमा नै बाधा पुग्ने र त्यसको परिणाम स्वरूप संविधानको कार्यान्वयन, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा समेत गम्भीर आघात पुग्ने सम्भावनातिर ध्यान दिनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । देशमा त्यस प्रकारको स्थिति उत्पन्न भएमा वर्तमान शासक वर्ग वा प्रतिगमनलाई नै मद्दत पुग्ने छ । त्यसकारण हाम्रो पार्टीले त्यस प्रकारका कारवाहीहरूको तीव्र शब्दमा भत्र्सना गर्दै त्यस प्रकारका घटनाहरूमाथि नियन्त्रणका लागि आवश्यक र प्रभावशाली कारवाही गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
अहिले गृहमन्त्रीको जिम्मा स्वयं प्रधानमन्त्रीका हातमा नै छ । उनको अहिलेसम्मको कार्यप्रणालीमाथि विचार गर्दा उनले कुनै पनि काम प्रभावशाली प्रकारले गर्न नसकेको कुरा बारम्बार स्पष्ट हुँदै आएको हो । अहिले देशमा बढिरहेका हिंसात्मक घटनाहरूका पछाडि प्रधानमन्त्री वा सत्ताको नै कुनै भूमिका छ भन्नका लागि अहिलेसम्म हामीसित कुनै आधार छैन । तैपनि उनको कार्यक्षमताको कमीका कारणले उनले गृहमन्त्रालयको काम राम्ररी सम्हाल्न नसकेको वा सुरक्षाको उचित व्यवस्था गर्न नसकेको कारणले पनि हिंसात्मक घटनाहरू एकपछि अर्को गर्दै बढ्दै गएका ता होइनन् ? प्रश्न उठाउनका लागि ठाउँ छ । त्यसैले हामीले सुरक्षाको जिम्मेवारी भएको गृहमन्त्रालयको काम प्रभावशाली प्रकारले सम्पन्न गर्नुपर्ने र चुनावमा कुनै बाधा पुग्न नदिने आवश्यकतामा जोड दिन्छौँ ।
सरकारले माथिल्लो कर्णाली परियोजनाको समाप्त भइसकको अवधिलाई पुनः थप्ने निर्णय गरेको छ । त्यो कार्यको हाम्रो पार्टीले तीव्र शब्दमा विरोध र भ्रत्सना गर्दछ । माथिल्लो कर्णालीसम्बन्धी सम्झौता निश्चित रूपले राष्ट्रघाती सम्झौता हो । नेपालले स्वयं राष्ट्रिय लगानीमा त्यो परियोजना सम्पन्न गर्नसक्ने स्थिति हुँदाहुँदै त्यो परियोजनालाई विदेशी कम्पनीलाई दिने निर्णय गर्नु नै ठूलो राष्ट्रघाती कार्य थियो । अहिले देउवा सरकारले पुनः त्यसको अवधि थपेर अत्यन्त गम्भीर प्रकारको राष्ट्रघाती कार्य गरेको छ । त्यो कार्यबाट वर्तमान सरकारको राष्ट्रघाती र भारतपरस्त चरित्र अरू उदाङ्गो भएको छ । त्यसले भविष्यमा वर्तमान सरकारले वा ने.का.को नेतृत्वमा बनेको गठबन्धन सरकारले कुन प्रकारको दिशा लिदै जाने हो ? त्यो कुरा पनि स्पष्ट भएको छ । हाम्रो पार्टीले त्यसका विरुद्ध व्यापक जनमत तयार पार्नुपर्ने वा आन्दोलन उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छ ।
वर्तमान सरकार वा ने.का.को नेतृत्वमा बनेको गठबन्धन सरकारबाट लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता समेतका विरुद्ध गम्भीर खतरा पुग्ने कुरा दिनको उज्यालो झै झलङ्ग छ । खास गरेर चुनावमा त्यो पक्षको विजयी भयो भने त्यसका देशमा गम्भीर र दुरगामी दुष्परिणामहरू हुने कुरा निश्चित छ । त्यसैले हाम्रो पार्टीले अहिलेको देशको राजनीतिक स्थितिमा ने.का.को नेतृत्वमा बनेको गठबन्धन पक्षको पराजयको आवश्यकतामा विशेष जोड दिन्छ । निश्चय नै चुनावमा त्यो पक्षको विजयी भयो भने पनि त्यसबाट गम्भीर सङ्कटको स्थिति उत्पन्न हुनेछ । तर प्रथमतः त्यो स्थिति आउन नदिनका लागि हामीहरू पूरै लाग्नु पर्दछ र अन्तमा चुनावमा त्यो पक्षको पराजय हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । तर कुनै कारणले त्यो पक्षको विजयी भयो भने लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका पक्षमा जुन व्यापक र उच्च प्रकारको जनचेतना उत्पन्न भएको छ, त्यसलाई दवाउनु र देशलाई प्रतिगमनको दिशामा लैजाने कुनै पनि शक्तिका लागि सम्भव हुनेछैन भन्ने कुरामा हामीलाई पूर्ण विश्वास छ । त्यो अवस्थामा देशलाई प्रतिगमनको दिशामा लैजाने कुनै पनि प्रयत्नलाई सफल हुन नदिनका लागि सबै प्रगतिशील, वामपन्थी वा गणतान्त्रिक शक्तिहरूका बीचमा व्यापक एकताको आवश्यकतामा हामीले अहिलेदेखि नै जोड दिन्छौँ ।
हाम्रो पार्टीको वाम पक्षधर शक्तिहरूसित चुनावी तालमेल गर्ने नीति अनुसार प्यूठान र बाग्लुङमा त्यस प्रकारको तालमेल भएको छ । हामीले देशका अन्य भागहरूमा पनि दुवै पक्षहरूको आवश्यकतानुसार त्यस प्रकारको तालमेल गर्दै जाने कुरामा जोड दिएका थियौँ र त्यसका लागि पनि प्रस्ताव समेत राखेका थियौँ । तर अन्यत्र त्यस प्रकारको तालमेलका लागि कुनै वार्ता हुन सकेको छैन वा तालमेल हुन सकेको छैन । खास गरेर अहिलेको राष्ट्रिय अवस्थामा ने.का.को नेतृत्वको गठबन्धनलाई पराजित गर्नका लागि राष्ट्रिय स्तरमा नै त्यस प्रकारको तालमेलको आवश्यकता थियो । त्यसरी आपसमा सझदारी वा तालमेल नभएका कारणले कुनै स्थानमा ने.का. पक्षको विजय हुन्छ भने त्यसबाट राजनीतिक रूपले नोक्सान पुग्ने कुरा प्रष्ट छ । अझै पनि एमाले वा माओवादी केन्द्र सहमत भएमा अन्य स्थानहरूमा पनि आवश्यकतानुसार चुनावी तालमेल गर्ने कुरामा हाम्रो पार्टीले ढोका खुला राखेको छ ।
प्यूठान र बाग्लुङमा हाम्रा बीचमा चुनावी तालमेल भएको छ । त्यो चुनावमा प्रतिस्पर्धा मुख्य रूपले ने.का.का विरुद्ध नै केन्द्रित भएको छ र ने.का.लाई पराजित गर्नका लागि तालमेलसित सम्बन्धित सबै पक्षहरूले प्रभावशाली प्रकारले काम गर्नुपर्ने आवश्यकता छ । कुनै एक स्थानमा पनि ने.का.पक्षको विजय हुन्छ भने त्यसका गम्भीर राजनीतिक परिणामहरू हुने सम्भावना रहने छ । त्यसकारण हाम्रा बीचमा भएको समझदारी अनुसार उक्त दुवै जिल्लाहरूमा चुनावमा विजयी प्राप्त गर्नका लागि सम्बन्धित सबै पक्षहरू गम्भीर हुनुपर्ने आवश्यकता छ ।
हामीले अहिले चुनावका सन्दर्भमा एमाले वा माओवादी केन्द्रसित भएको चुनावी तालमेलाई तात्कालिक चुनावका सन्दर्भमा मात्र होइन, लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विरुद्ध ने.का.को नेतृत्वमा बनेको गठबन्धनबाट सम्भावित गम्भीर प्रकारको खतराका विरुद्ध व्यापक राजनीतिक एकता कायम गर्ने आवश्यकताको सन्दर्भमा नै लिएका छौँ । चुनावमा कुनै पक्षको हार वा जित भएपनि देशका अगाडि उपस्थित गम्भीर प्रकारको सङ्कटको सामना गर्नका लागि त्यस प्रकारको राजनीतिक एकताको आवश्यकता छ भन्ने हाम्रो निश्चित र दृढ मत छ । हामीले आशा गर्दछौँ अन्य सम्बन्धित पक्षहरूले पनि कुनै स्थानमा कसैको चुनावमा जित वा हार भएपनि त्योभन्दामाथि उठेर देशका अगाडि अहिले गम्भीर रूपमा देखापरेको स्थिति वा ने.का.को नेतृत्वमा बनेको गठबन्धनबाट सम्भावित खतरामाथि ध्यान दिएर त्यस प्रकारको राजनीतिक एकतालाई सुदृढ पार्नुपर्ने आवश्यकतामा विशेष जोड दिनेछन् ।

मिति ः २०७४ कार्तिक २८ गते

मोहनविक्रम सिंह
महामन्त्री