वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com

वक्तव्य

ने.क.पा. (मसाल)ले संसदीय र प्रादेशिक चुनावको सन्दर्भमा ने.का.सित कुनै तालमेल नगर्ने निर्णय गरेको छ । सामान्यतः संविधानको निर्माणका बेलामा जुन शक्तिहरूका बीचमा एकता कायम भएको थियो, संविधानको कार्यान्वयनको अवधिमा पनि त्यो एकता कायम रहनु पर्दछ भन्ने हाम्रो सोचाइ रहेको थियो र त्यो सोचाइ अहिले पनि कायम छ । त्यही नीति अनुसार हामीले स्थानीय चुनावको बेलामा पनि माओवादी केन्द्र, एमाले र ने.का. समेतसित चुनावी तालमेलको लागि ढोका खुला राखेका थियौँ र त्यस अनुसार कतिपय गाउँपालिकाहरूको चुनाव वा जिल्ला समन्वय समितिको गठनको बेलामा पनि ती तीनै पक्षहरूसित हाम्रो तालमेल पनि भएको थियो । तै पनि अहिलेको परिवर्तित परिस्थितिमा ने.का.सितको तालमेल राजनीतिक दृष्टिकोणले सही हुन्न भन्ने निष्कर्षमा हाम्रो पार्टी पुगेको छ । 
संसदले दोस्रो संविधान संशोधन विधेयकलाई अस्वीकार गरिसकेको छ । तर त्यसपछि पनि प्रधानमन्त्री देउवाले लगातार चुनावमा दुईतिहाई बहुमत ल्याएर त्यो विधेयकलाई पारित गराउने प्रतिबद्धता प्रकट गरिरहेका छन् । स्थानीय निर्वाचनका बेलामा मन्त्रीमण्डलको विस्तार गरेर उनले बारम्बार खुलेआम प्रकारले आचार संहिताको उल्लङ्घन गरे र अहिले पनि पुनः मन्त्रीमण्डलको विस्तार गर्ने कुरा गर्न थालेका छन् । अहिले माओवादी केन्द्रले संविधान संशोधन विधेयकका विरुद्ध उभिएको एमालेसित वामपन्थी एकता र पार्टी एकता समेत गर्ने घोषणा गरेको छ । यस प्रकारको स्थितिमा चुनावमा ने.का.सित तालमेल गर्नु वामपन्थी जनमतको विरुद्ध हुनेछ र राजनीतिक दृष्टिकोणले पनि त्यसो गर्नु गलत हुनेछ भन्ने निष्कर्षमा हाम्रो पार्टी पुगेको छ ।
हामीले एमाले र माओवादी केन्द्र समेत मिलेर बनेको वामपन्थी पक्षधर गठबन्धनसित आगामी चुनावका बेलामा तालमेल गर्नसक्ने नीति निर्धारित गरेका छौँ । त्यस अनुसार केही वार्ताहरू पनि चलेका छन् । तर उनीहरूसित चुनावी तालमेल हुन सक्ने वा नसक्ने भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । त्यस प्रकारको तालमेल विभिन्न संसदीय वा प्रादेशिक क्षेत्रहरूमा बन्नसक्ने सहमतिका आधारमा नै हुन सक्ने कुरा हो । तर अहिलेसम्म कुनै सहमति हुन सकेको छैन । त्यो अवस्थामा हामीले सहमति हुन सकेका निर्वाचन क्षेत्रहरूमा एकअर्कालाई समर्थन गर्ने नीति अपनाउने छौँ भने सहमति हुन नसकेका क्षेत्रहरूमा एक्लै चुनाव लड्ने कुरामा पनि हाम्रो पार्टी दृढ छ । देशभरका हाम्रो पार्टीका सदस्य वा समर्थकहरू चुनावी तालमेल नभएको अवस्थामा एक्लै पनि चुनावमा प्रतिस्पर्धा गर्नका लागि तयार रहनु पर्दछ र त्यस अनुसार आफ्नो तयारी गर्दै जानु पर्दछ । गत स्थानीय चुनावमा तालमेलका लागि अनावश्यक रूपले बढी समय लगाउँदा हामीलाई वा हाम्रो चुनावको तयारीमा धेरै क्षति पुगेको कुरामाथि ध्यान दिंदै तालमेल नभएको अवस्थामा पनि चुनावको तयारीमा अहिलेदेखि नै पूरा लाग्नु पर्दछ ।
हामीहरू के कुरामा स्पष्ट हुनुपर्दछ भने अहिलेको हाम्रो कार्यदिशाको प्रधान पक्ष जनआन्दोलन नै हो । कुनै बेला चुनावमा जितेपनि वा नजिते पनि, स्थानीय तहहरूमा पुगे पनि वा नपुगे पनि वा संसदमा विजय प्राप्त गर्न सके पनि, नसके पनि अथवा त्यसमा हाम्रो अत्यन्त कम उपस्थिति भएपनि हाम्रो जनआन्दोलनमा जोड दिने नीतिमा कुनै अन्तर आउन्न र आउन हुन्न । त्यही प्रकारको उच्च क्रान्तिकारी स्प्रिटद्वारा नै हामीले आगामी चुनावमा पनि भाग लिनु पर्दछ । त्यसमा बढीभन्दा बढी विजय प्राप्त गर्न वा जनताको अधिकतम मत प्राप्त गर्न हामीले पूरा प्रयत्न गर्नुपर्दछ । तर संसदीय व्यवस्था अन्तर्गत हामीले गतकालमा चुनावमा जति शक्ति लगाए पनि हामीले प्राप्त गर्ने मत वा विजय अत्यन्त कम रहने गरेको छ । त्यही प्रकारले अहिलेको चुनावको परिणाम जस्तो आएपनि जनआन्दोलनलाई दृढतापूर्वक अगाडि बढाउने हाम्रो नीति र प्रयत्न हुनुपर्दछ । यो कुरामाथि पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ कि गतकालमा कैयौँपल्ट लामो समयसम्म हामीले चुनावमा भाग लिने गरेका थिएनौँ उदाहरणका लागि पञ्चायती तानाशाही व्यवस्थाको तीन दशकको लामो अवधिमा हामीले चुनावमा भाग लिने गरेका थिएनौँ भने बहुदलीय व्यवस्था कायम भएपछि पहिलो संसदीय चुनावलाई हामीले बहिष्कार गरेका थियौँ । तर त्यो कारणले हाम्रो पार्टीको सङ्गठन वा जनआन्दोलनमा कुनै कमी आएका थिएन । कतिपय अवस्थामा पार्टीमाथि प्रतिवन्ध लागेको अवस्थामा पनि हामीले आफ्नो सङ्गठन र आन्दोलनलाई लगातार अगाडि बढाउने गरेको गौरवपूर्ण इतिहास पनि हाम्रा अगाडि छ । त्यस प्रकारको उच्च र क्रान्तिकारी स्प्रिटका साथ नै हामीले अहिलेको चुनावमा पनि भाग लिने नीति अपनाउनु पर्दछ । 
अहिले एमाले वा माओवादीको गठबन्धनसित चुनावमा तालमेलको कुरा हामीले खाली निर्वाचन क्षेत्रहरूको वाँडफाँडको दृष्टिकोणले मात्र सोचेका छैनौँ । अहिले देउवाको सरकारले जुन प्रकारको नीति र कार्यशैली अपनाइरहेको छ, त्यसबाट संविधानको कार्यान्वयनका साथै गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा समेत गम्भीर आँच पुग्ने तथा देशमा राजतन्त्रको पुनस्र्थापना हुने, राष्ट्रियतामा कुठाराघात पुग्ने, राष्ट्रिय विखण्डन हुने वा देशमा हिन्दू राष्ट्रको पुनस्र्थापना हुने सम्भावना रहने छ । त्यस प्रकारको खतरा सबैभन्दा बढी ने.का.ले नेतृत्व गरेको सरकारबाट नै छ । खास गरेर भारतीय विस्तारवादले त्यसरी देशलाई प्रतिगमनका दिशामा लैजानका लागि ने.का.लाई प्रोत्साहित गर्ने र त्यसलाई बल दिने नीति अपनाइरहेको छ र अपनाउँदै जानेछ । त्यो अवस्थामा आगामी चुनावमा ने.का.लाई पराजित गर्नु निर्णयात्मक महत्वको कुरा बनेको छ । त्यसैले हामीले निर्वाचनमा ने.का.सित कुनै तालमेल नगर्ने र अहिले बनेको वाम पक्षधर गठबन्धनसित तालमेल गर्ने नीतिलाई प्राथमिकता दिएका छौँ । निश्चय नै उनीहरूसित चुनावको तालमेल हुन सकेन भनेपनि हामीले चुनावमा एक्लै अन्य पक्षहरूसित प्रतिस्पर्धा गर्दै राजनीतिक रूपले देशमा जुन गम्भीर प्रकारको स्थिति उत्पन्न हुने सम्भावना छ वा ने.का.को सरकारबाट राजनीतिक रूपले देशमा जुन गम्भीर प्रकारको स्थिति उत्पन्न भएको छ त्यसबाट देशलाई बचाउनका लागि चुनावको बेलामा रपछि पनि लगातार आफ्नो सङ्घर्ष अगाडि बढाउने हाम्रो नीति हुनेछ ।
यसबारे पनि हामीहरू गम्भीर हुनुपर्ने आवश्यकता छ कि अहिले देशमा सिमित रूपमा भएपनि जुन प्रजातान्त्रिक प्रणाली छ, त्यो यही रूपमा रहने छ भन्ने कुराको कुनै ग्यारेन्टी छैन । गतकालमा देउवाको जुन प्रकारको राजनीतिक पृष्ठभूमि रहेको छ र अहिले पनि कानून र आचार संहिता समेतलाई उल्लङ्घन गरेर काम गर्ने जुन प्रकारको शैली अपनाइरहेका छन्, त्यसमाथि विचार गर्दा आफ्नो अस्तित्वलाई बचाउनका लागि अरू गम्भीर प्रकारका असंवैधानिक तरिकाहरू अपनाउने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यो अवस्थामा देशलाई त्यस प्रकारको खतराबाट बचाउन संविधान, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता पक्षधर शक्तिहरूका बीचमा व्यापक ऐक्यवद्धताको आवश्यकता छ र अहिलेको चुनावलाई पनि त्यस प्रकारको एकताका पक्षमा वातावरण तयार गर्न अधिकतम उपयोग गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । 

मिति ः २०७४ असोज २५ गते

मोहनविक्रम सिंह
महामन्त्री