वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Email : ncpmashal@gmail.com

वक्तव्य

यो वास्तविकताप्रति नेकपा (मसाल) को गम्भीर ध्यान गएको छ कि निर्वाचन आयोगले जारी गरेको आचार संहिता अहिले एउटा तमाशा बनेको छ र निर्वाचन आयोग सरकारका अगाडि लाचार र निरीह बनेको छ । निर्वाचन आयोगले जारी गरेको आचार संहिताको स्वयं सत्तापक्षद्वारा नै लगातार उल्लङ्घन भई रहेको छ । स्वयं निर्वाचन आयोगले जारी गरेको विज्ञप्ती अनुसार मन्त्री मण्डलको विस्तार आचार संहिताको उल्लङ्घन हो । तर स्वयं निर्वाचन आयुक्तको भनाइ अनुसार उनी प्रधानमन्त्रीका विरुद्ध कुनै कारवाही गर्न असमर्थ छन् । त्यसले स्थितिको चरम प्रकारको गम्भीरतालाई बताउँछ । छिट्टै नै संसदीय र प्रादेशिक चुनाव हुन थालिरहेको पृष्ठभूमिमा आचार संहिताबारे देखिएको त्यस प्रकारको अवस्थामा निर्वाचन निस्पक्ष ढङ्गले हुने कुरामा व्यापक आशङ्का उत्पन्न भएको छ ।
देशमा एकपछि अर्को गर्दै लगातार आचार संहिताको उल्लङ्घन हुने कार्य भई रहेको छ । मन्त्री मण्डलको विस्तार वाहेक ठुलो सङ्ख्यामा न्यायाधीशहरूको सरुवा, तीन जना मुख्य न्यायाधीशहरूलाई सर्वोच्चको न्यायाधीशमा पदोन्नतिका लागि सिफारिस, २ नं. प्रदेशमा आचार संहिताको सत्तापक्षसित सम्बन्धित नेता÷कार्यकर्ताहरूद्वारा नै व्यापक रूपमा उल्लङ्घन आदि कारवाहीहरू यस सन्दर्भमा उल्लेखनीय छन् । चुनावको मुखमा नै आएर मन्त्री परिषदले ठुलो पैमानामा संसद विकास कोषको रकम सांसदहरूलाई उपलब्ध गराउने निर्णय गरेको छ । त्यो पनि आचार संहिताको ठाडो उल्लङ्घन हो । 
सरकारका अगाडि निर्वाचन आयोग जसरी निरीह रूपमा प्रस्तुत भई रहेको छ, त्यसले गर्दा आगामी संसदीय र प्रादेशिक चुनावको सिलसिलामा सरकारले ठुलो पैमानामा आचार संहिताको उल्लङ्घन गर्दै जाने र त्यस प्रकारका कारवाहीहरूबारे निर्वाचन आयोगले कुनै कारवाही नगर्ने नै बढी सम्भावना देखिन्छ । आफ्नो आचार संहिताको उल्लङ्घनको कारवाहीबारे देउवा यति निश्चिन्त देखिन्छन् कि उनले गरेको मन्त्री मण्डलको विस्तारबारे प्रश्न उठाउँदा उनले ठाडो प्रकारले जबाफ दिएका थिए ः मैले मन्त्री मण्डलको अरू पनि विस्तार गर्ने छु ।
प्रधानमन्त्री देउवाले जुन प्रकारको स्वेच्छाचारी प्रकारको कार्यशैलीको प्रदर्शन गर्ने गरेका छन्, त्यसबाट देशमा विधिको शासन समाप्त हुने र देशमा अधिनायकवादी शासन प्रणाली कायम हुने सम्भावना बढ्दै गई रहेको छ । उनको गत कालको इतिहासले पनि बताउँछ– उनी कुनै सिद्धान्त वा नीतिलाई आधार बनाएर काम गर्ने मान्छे होइनन् । प्रधानमन्त्री पदका लागि राजालाई प्रजातन्त्र बुझाएको उदाहरण हाम्रा अगाडि छ । चुनावमा उनले बहुमत प्राप्त गरेमा संविधान संशोधन विधेयक पारित गराएर नै छाड्ने कुरा गरी रहेका छन् । त्यसको अर्थ हुन्छ– देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि गम्भीर प्रकारको कुठाराघात । 
आफूले चाहेको व्यक्तिलाई आई.जी.पी. बनाउन नपाएको कारणले पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीका विरुद्ध महाभियोगको प्रस्ताव आदि जस्ता उनका व्यवहारहरूले उनको अत्यन्तै निम्न प्रकारको राजनीतिक चिन्तन र व्यक्तित्वलाई बताउँछ । सञ्चार माध्यमहरूमा आएका समाचार अनुसार अब उनले आफूले चाहेको पहिलेको नै व्यक्तिलाई पुनः आई.जी.पी. बनाउनका लागि प्रयत्न गर्दैछन् । उनले जुन प्रकारको स्वेच्छाचारी प्रकारको व्यवहार गर्ने गरेका छन्, त्यसबाट सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत आतङ्कित भएर काम गर्नु पर्ने स्थितिको सृजना हुँदै गई रहेको देखिन्छ । त्यो अवस्थामा सर्वाेच्च अदालत वा निर्वाचन आयोगबाट बढी आशा गर्ने ठाउँ पनि कमै देखिन्छ । त्यस प्रकारको स्थितिमा उनको नेतृत्वमा देशमा लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियता समेत समाप्त हुने नै खतरा बढ्दै गएको आभाष हुन्छ । अहिले आचार संहिताको उल्लङ्घनको कारवाहीले उनको त्यही प्रकारको प्रवृत्तिलाई नै बताउँछ । उनको त्यस प्रकारको चरित्र र कार्यप्रणालीसित माओवादी केन्द्रले कतिसम्म र कहिलेसम्म तालमेल मिलाउँदै जाने हो ? त्यो कुरा भविष्यले नै बताउने छ । त्यो कुरा जे भए पनि उनको नेतृत्वबाट देशमा गम्भीर प्रकारको अवाञ्छित स्थिति पैदा हुने कुरा स्पष्ट छ र त्यसका विरुद्ध व्यापक जनचेतना उठाउनु पर्ने तथा जनदबाब सृजना गर्नु पर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
सरकारले पूर्व सांसदहरूलाई पेन्सन दिने कानुन बनाउन प्रयत्न गरी रहेका समाचारहरू पनि सञ्चार माध्यमहरूले बाहिर ल्याएका छन् । संसारका कतिपय देशहरूमा त्यस प्रकारको प्रचलन छ । तर विकसित देशहरूमा बेरोजगारीहरूलाई भत्ता दिने व्यवस्था पनि छ । तर नेपाल जस्तो देशमा अन्य देशहरूको नक्कल गरेर पूर्व सांसदहरूलाई पेन्सन दिने व्यवस्था गर्नुलाई हाम्रो पार्टीले गलत मान्दछ र त्यसको विरोध गर्दछ । 
उत्तर कोरियाको गम्भीर बन्दै गएको स्थितिप्रति नेकपा (मसाल) ले गम्भीर चिन्ता प्रकट गर्दछ । त्यहाँ जुन प्रकारको स्थितिको सृजना हुँदै गई रहेको छ, त्यसबाट विश्व आणविक युद्ध हुने र त्यसबाट सम्पूर्ण मानव जातिलाई नै ठुलो क्षति पुग्ने सम्भावना बढ्दै गई रहेको छ । त्यहाँ जुन प्रकारको स्थितिको सृजना भई रहेको छ, त्यसका लागि मुख्य रूपले अमेरिकी साम्राज्यवाद नै जिम्मेवार छ । ट्रम्प सरकारले त्यहाँ लगातार सशस्त्र कारवाही गर्ने धम्की दिई रहेको छ । 
उत्तर कोरियाको सन्दर्भमा जुन प्रकारको स्थितिको सृजना भई रहेको छ, त्यसका लागि मुख्य रूपले साम्राज्यवादी देशहरू नै जिम्मेवार छन् । हाम्रो पार्टीले बारम्बार यो कुरामा जोड दिदै आएको छ कि आज संसारमा ठुलो पैमानामा बनेका आणविक हतियारहरूका कारणले विश्व वा सम्पूर्ण मानव जाति नै ध्वस्त हुने खतरा बढ्दै गई रहेको छ । त्यसैले हाम्रो पार्टीले लगातार सबै आणविक हतियारहरू वा आणविक भट्टीहरू बन्द गर्नु पर्ने माग गर्दै आएको छ । अर्कातिर, आफ्नो आणविक शक्तिका कारणले साम्राज्यवादी शक्तिहरूले विश्वमा आफ्नो आधिपत्य कायम गर्ने योजना अन्तर्गत काम गरी रहेका छन् । इराक, अफगानिस्तान, लिबिया आदि त्यस प्रकारका केही उदाहरणहरू हुन् । त्यो अवस्थामा आणविक शक्तिसम्पन्न देशहरूका अगाडि आफ्नो अस्तित्व वा सार्वभौमिकताको रक्षा कसरी गर्ने ? त्यो संसारभरिका देशहरूका लागि एउटा चुनौती नै भएको छ । त्यस प्रकारको स्थितिमा नै उत्तर कोरियाले आणविक हतियारहरूको निर्माणको बाटो अपनाउन बाध्य हुनु परेको छ । त्यसको समाधान संसारभरका सबै आणविक हतियार र आणविक भट्टीहरूलाई नष्ट गर्नु नै हो । त्यसैले त्यसका लागि आवाज उठाउन नेकपा (मसाल) ले संसारका सबै शान्तिप्रेमी जनता र शक्तिहरूसित अपिल गर्दछ ।
म्यान्मारको स्थितिप्रति नेपाल कम्युनिस्ट पार्टी (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । त्यहाँका रोहिग्या मुस्लिम समुदायका मानिसहरू लाखौँको सङ्ख्यामा आफ्नो देश छाडेर बङ्गलादेशमा शरणार्थी बनेर गई रहेका छन् । म्यान्मारको सेनाले उनीहरूमाथि कैयौँ प्रकारका अत्याचारहरू गरी रहेका समाचारहरू प्राप्त भई रहेका छन् । त्यहाँ रोहिग्याहरूले कुन प्रकारको आन्दोलन गरी रहेका छन् र त्यसको राजनीतिक चरित्र के हो ? त्यसबारे आधिकारिक रूपमा हामीलाई केही थाहा हुन सकेको छैन र त्यसबारे अरू अध्ययनको आवश्यकता छ । थप जानकारी प्राप्त भएपछि नै त्यसबारे आधिकारिक रूपमा केही भन्नु सम्भव हुने छ । तैपनि त्यहाँ जुन प्रकारको अशान्तिको स्थितिको सृजना भएको छ र त्यहाँबाट लाखौँ शरणार्थीहरूले देश छाडेर जानु परी रहेको छ, त्यस प्रकारको स्थितिको छिटोभन्दा छिटो समाधान गर्नका लागि हाम्रो पार्टीले अन्तर्राष्ट्रिय जगतसित अपिल गर्दछ ।

मिति ः २०७४ भदौ २९

मोहनविक्रम सिंह
महामन्त्री