वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com

वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)को पाँचौ राष्ट्रिय भेला यही २०७४ श्रावण ४ र ५ गते सम्पन्न भयो । त्यो भेलाले स्थानीय निर्वाचनको मूल्याङ्कनसम्बन्धी प्रस्ताव तथा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र सङ्गठनात्मक सुदृढीकरणको प्रस्ताव पारित गरेको छ । त्यो भेलाले पार्टीका विभिन्न सङ्गठनात्मक कार्यहरू र आगामी कार्यक्रमसम्बन्धी कैयौँ महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । त्यो भेलाको सिलसिलामा केन्द्रीय समिति र पी.वी.का बैठकहरू श्रावण ७ गतेसम्म चलेका थिए ।
श्रावण ४ गते सर्वप्रथम पाँचौ राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रम सम्पन्न भयो । त्यो भेलाको उद्घाटन महामन्त्री का. मोहनविक्रम सिंहले बत्ती प्रज्वलन गरेर गर्नुभएको थियो । उद्घाटनका साथै उद्घाटन मन्तव्य पनि उहाँले दिनु भएको थियो । का. सहजको अध्यक्षतामा सम्पन्न त्यो उद्घाटन कार्यक्रमको सञ्चालन का. अग्नीले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय प्रवक्ता का. विमल शर्मा, मजदुर मोर्चाकातर्फबाट का. प्रकाश, किसान मोर्चाकातर्फबाट का. राजेन्द्र र महिला मोर्चाकातर्फबाट का. रक्षाले शुभकामनाहरू दिनुभएको थियो ।
उद्घाटन कार्यक्रम सम्पन्न भएपछि का. सवल, का. बोध र का. क्षितिज रहेको अध्यक्ष मण्डलबाट बन्द सत्र सुरु भयो । त्यो भेलामा सर्वप्रथम केन्द्रीय समितिकातर्फबाट स्थानीय निर्वाचन मूल्याङ्कनसम्बन्धी प्रस्ताव रपछि अक्टोबर क्रान्तिको शतवार्षिकी र सङ्गठनात्मक सुदृढीकरणसम्बन्धी प्रस्तावहरू महामन्त्री का. मोहनविक्रम सिंहले प्रस्तुत गर्नुभएको थियो । दुवै प्रस्तावहरूमा दुई दिनसम्म प्रतिनिधि, पर्यवेक्षकहरूले जनवादी तरिकाले विस्तृत रूपले आफ्ना विचारहरू राखेका थिए । ती दुवै प्रस्तावहरूबारे का. महामन्त्रीले स्पष्टिकरण दिएपछि सर्वसम्मतिले पारित भएका थिए ।
स्थानीय निर्वाचनको मूल्याङ्कनसम्बन्धी त्यो प्रस्तावको प्रारम्भमा नै लेखिएको छ ः “समग्र रूपमा आज देशको स्थिति अत्यन्त गम्भीर छ र सङ्कटको मुखमा उभिएको छ । प्रथम, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका अगाडि खतरा बढ्दै गइरहेको छ । वर्तमान माओवादी केन्द्र र ने.का.को गठबन्धन सरकार भारतीय विस्तारवादको ग्राण्डडिजाइन अनुसार नेपालमा (भारतीय विस्तारवादीको) उद्देश्य पूरा गर्न नै बनेको छ । तत्काल आफ्नो विस्तारवादी उद्देश्य पूरा गर्नका लागि मार्ग प्रसस्त गर्न भारतले संविधानमा संशोधनका लागि नै मुख्य जोड दिएको छ । द्वितीय, भारतीय योजना अनुसार नै वर्तमान सरकारले प्रारम्भदेखि नै संविधानमा संशोधन पारित गराउन योजनावद्ध प्रकारले काम गर्दै आएको छ । त्यसैका लागि दोस्रो संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिएको छ । त्यो संशोधन विधेयकका विरुद्ध देशव्यापी रूपमा देखापरेको जनमत, देशका विभिन्न भागमा त्यसका विरुद्ध उठेको आन्दोलन तथा संसदमा प्रतिपक्षका राजनीतिक दल वा सङ्गठनहरूको कडा प्रतिरोधको कारणले प्रचण्डको प्रधानमन्त्रीत्वको कालमा त्यो कार्य सम्पन्न हुन सकेन । त्यो संशोधन प्रस्तावका विरुद्ध सबैभन्दा सशक्त र सम्झौताहीन अडान राष्ट्रिय जनमोर्चाले नै लिने गरेको छ । दोस्रो संशोधन प्रस्ताव पहिलो संशोधन प्रस्तावको नै निरन्तरता हो । सुशिल कोइरालाले संसदमा दर्ता गराएको प्रस्तावलाई ओली सरकारले संसदद्वारा पारित गराएको थियो । तर त्यो बेला स्वयं सरकारमा सहभागी भएको बेलामा पनि राष्ट्रिय जनमोर्चाले, त्यसका विरुद्ध मतदान गरेको थियो । त्यसरी एमालले त्यो संशोधन प्रस्ताव (पहिलो संशोधन प्रस्तावप्रति) प्रति सम्झौतापरस्त नीति अपनाएको थियो । तर राजमोले त्यसका विरुद्ध अग्रिम पंक्तिमा रहेर सधैँ त्यसको विरोध गर्दै आएको छ । शेरबहादुर प्रधानमन्त्री भएदेखि नै उनले त्यो संशोधन विधेयकलाई पारित गराउनु आफ्नो प्राथमिक उद्देश्य भएको बताउँदै आएका छन् । तर उनलाई पनि अहिलेसम्म त्यसका लागि सफलता प्राप्त भइरहेको छैन । तैपनि त्यो दिशामा उनीहरूको प्रयत्न लगातार जारी छ । त्यो अवस्थामा सामान्यतः देशको राष्ट्रियताको रक्षाका लागि र विशेषतः संविधान संशोधन विधेयकलाई पराजित गर्न उच्च प्रकारको सतर्कता र ऐक्यवद्धतामा हाम्रो पार्टीले लगातार जोड दिंदै आएको छ र अहिले पनि दिन्छ ।”
त्यो प्रस्तावमा भारतका कट्टर हिन्दूवादी शासक वर्गले नेपालका कट्टर हिन्दूवादी र राजावादीसित गठबन्धन गरेर गणतन्त्र र धर्म निरपेक्षतालाई खतम गरेर नेपाललाई हिन्दूराष्ट्र बनाउन र राजतन्त्रको पुनस्र्थापना गर्नका लागि योजनावद्ध प्रकारले प्रयत्न गरिरहेका छन् । त्यो कुराको चर्चा गर्दै सत्ता पक्षका कतिपय घटकहरूले मुख्यतः ने.का.को एउटा पक्षले पनि त्यसका लागि दवावको सृजना गरिरहेको छ । त्यो कुराको चर्चा गर्दै त्यो प्रस्तावमा भनिएको छ ः “गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि व्यापक जनमत तयार पार्नुपर्ने ऐक्यवद्धता कायम गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।”
स्थानीय निर्वाचनको मिति बारम्बार सार्ने र ३ चरणमा गर्ने सरकारको कार्य “अप्रत्यक्ष र मुख्य रूपमा भारतीय शासक वर्गको दवाव र प्रत्यक्ष रूपमा मधेशवादीहरूका राष्ट्रघाती प्रकारका मागहरू पूरा गर्न संसदमा आवश्यक दुईतिहाई बहुमत जुटाउन, सांसदहरूको किनबेच गर्न समय जुटाउन नै बारम्बार स्थानीय तहका चुनावको मिति सार्ने वा त्यसलाई बेग्लाबेग्लै चरणमा सम्पन्न गर्ने कार्य गरिएको हो । त्यसले गर्दा राष्ट्रिय सम्पत्तिको पनि अरबौँ रूपैयाँको दुरूपयोग हुने गरेको छ । तै पनि २० वर्षदेखि रोकिएको चुनाव दुई चरणमा भए पनि सम्पन्न हुनु स्वागतयोग्य कार्य हो ।”
प्रस्तावमा आगामी प्रादेशिक चुनाव सङ्घीय संरचना अन्तर्गत भएकोले प्रारम्भदेखि त्यसको विरोध गर्दै आएको कुरा स्पष्ट गरिएको छ । तैपनि सैद्धान्तिक र रणनीतिक रूपमा संसदीय प्रणालीको विरोध गरे पनि तात्कालिक परिस्थितिमा कार्यनीतिक रूपमा त्यसलाई उपयोग गरे जस्तै प्रादेशिक संरचनाको सङ्घीय स्वरूपको विरोध र भण्डाफोरलाई कायम राख्दै त्यो चुनावको पनि उपयोग गर्ने हाम्रो नीति हुनेछ ।
दुवै चरणका स्थानीय चुनावमा राजमोले बाग्लुङमा अध्यक्ष १, उपाध्यक्ष २, वडा अध्यक्ष ११ र अन्य सदस्यहरू ४५ सहित ५९ जना, प्यूठानमा अध्यक्ष २, उपाध्यक्ष २, वडा अध्यक्ष १३, अन्य सदस्यहरू ६० सहित ७७ जना, अर्घाखाँचीमा वडा अध्यक्ष ४, अन्य सदस्यहरू २२ सहित २६ जना, गुल्मीमा उपाध्यक्ष १, अन्य सदस्यहरू ६ सहित ७ जना, नवलपरासीमा वडा अध्यक्ष १, अन्य सदस्य १ सहित २ जना, सुर्खेतमा वडा सदस्य १, डोल्पामा वडा सदस्य १ र पाल्पामा वडा सदस्य १ गरी देशभरमा जम्मा १७४ जना जनप्रतिनिधिहरू निर्वाचित भएका छन् । देशभरका विभिन्न गाउँपालिका वा कार्यपालिकाहरूमा बाग्लुङमा २५ जना, प्यूठानमा ३५ जना, अर्घाखाँचीमा १० जना, गुल्मीमा ३ जना, नवलपरासी १ जना, रूपन्देहीमा १ जना र सुर्खेतमा १ जना गरी जम्मा ७६ जना निर्वाचित भएका छन् ।
बाग्लुङको जैमुनी नगरपालिका, प्यूठानको ऐरावती गाउँपालिका र स्वर्गद्वारी नगरपालिका तथा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा पनि जित्ने सम्भावना थियो । त्यसरी हामीले ७ स्थान जित्ने सम्भावना भएपनि ३ स्थानमा मात्र विजय प्राप्त गर्न सक्यौँ । तर त्यसरी पराजित भएका स्थानहरूमा पनि वडा अध्यक्ष सहित सदस्यहरू ठूलो सङ्ख्यामा विजय भएका छन् । हाम्रो पार्टीको सङ्गठनात्मक पद्धति र कार्यशैलीमा भएका कतिपय कमजोरीका कारणले नै हाम्रा ती स्थानहरूमा पराजय भयो । देशव्यापी रूपमा विचार गर्दा उक्त परिणामहरू संतोषजक छैनन् । तैपनि हाम्रो सङ्गठनात्मक अवस्थाको अनुपातमा उक्त उपलब्धिहरू सामान्यतः सन्तोषजक नै मान्नु पर्दछ ।
चुनावका दौरानमा बुर्जुवा पार्टी वा सङ्गठनमा देखापर्ने कैयौँ प्रकारका कमजोरीहरू पनि हाम्रो पार्टीमा देखापरेको वास्तविकता पनि प्रस्तावमा उल्लेख गरिएका छन्, जस्तै कि स्वयं उम्मेदवार बन्न नपाउँदा असन्तुष्ट हुने वा चुनावमा उत्साहपूर्वक काम नगर्ने, यहाँसम्म कि स्वतन्त्र उम्मेदवार बनेर पनि चुनावमा लाग्न खोज्ने सोचाइहरू पनि देखापर्ने गरेका छन् । अन्य बुर्जुवा सङ्गठनहरूमा जस्तै त्यस प्रकारका असन्तोष वा कमजोरीहरू प्रकट रूपमा देखा परेनन् । तैपनि त्यस प्रकारका केही न केही कमजोरीहरू हाम्रो पार्टीमा देखापरे । हाम्रो पार्टीलाई अन्य बुर्जुवा पार्टीहरूलाई जस्तै पतन हुन नदिनका लागि त्यस प्रकारका कमजोरीहरूलाई आलोचना, प्रशिक्षण वा आवश्यकतानुसार कारवाही पनि गरेर तिनीहरूको समाधान गर्ने प्रयत्न गर्नुपर्दछ । 
सङ्गठन र कार्यकर्ताहरूको परिचालन, मतपत्रहरूको प्रशिक्षण दिने कार्य आदिमा पनि कमजोरीहरू देखापरे । केन्द्रद्वारा कार्यकर्ताहरूको खटनपटनमा आर्थिक कारणले पनि धेरै बाधा पुरायो भने कतिपय स्थानहरूमा यसबारे केन्द्रका निर्देशनहरू कार्यान्वयन गरिएन । उपरोक्त कारणहरूले पनि चुनावमा नोक्सान पुर्‍यायो ।
चुनावको बेलामा कतिपय जिल्लामा तालमेलका लागि नै बढी समय र शक्ति खर्च गर्ने र आफ्नो चुनावको तयारी र प्रचारमा कम लाग्ने कमजोरीहरू पनि देखापरे । पार्टीका स्वीकृत नीति अनुसार तालमेलका लागि प्रयत्न गर्नुपर्दछ, तर आफ्नो स्वाभिमान, सङ्गठनात्मक आधारमा आघात पुग्ने अवस्था देखापरेमा पराजयको खतरा मोलेर पनि त्यस प्रकारको तालमेललाई अस्वीकार गर्नुपर्दछ । त्यस प्रकारको स्प्रिट देखाउनेबारे कतिपय स्थानहरूमा केही कमजोरी देखापरे । तालमेलका दौरानमा कतिपय पक्षहरूले अन्तर्घात गरेका छन् ।
चुनावका दौरानमा पार्टीको निर्देशनका विरुद्ध कतिपय उम्मेदवारहरूले अन्यपक्षहरूका चुनाव चिन्ह लिएर चुनाव लड्न वा कतिपय स्थानमा पार्टी नीति, निर्देशन वा अनुशासनसित मेल नखाने कतिपय कमजोरीहरू पनि भएका छन् । त्यस प्रकारका कमजोरीहरूबारे छानवीन गर्नुपर्दछ ।
कतिपय पक्षहरूले चुनावमा भएको तालमेललाई तोड्नेकाम पनि गरेका छन् भने कतिपय स्थानहरूमा तालमेल गरेका अन्य पक्षहरूले अन्तर्घात गर्ने गरेका छन् । प्यूठानमा एमालेसित भएको तालमेललाई त्यसले तोड्यो । कतिपयहरूसित भएको तालमेलका नकारात्मक परिणामहरू देखापरेको भए पनि समग्ररूपमा तालमेलको परिणामहरू गलत निस्के भन्ने होइन । कतिपय स्थानहरूमा अन्य पक्षहरूले इमान्दारितापूर्वक काम गरेका छन् वा त्यसको परिणामहरू सकारात्मक पनि रहेका छन् ।
स्थानीय चुनावमा अन्य पक्षको तालमेलसम्बन्धी कतिपय कार्यहरू गलत भए पनि त्यसको अर्थ तालमेल वा कार्यगत एकतालाई पूरै अस्वीकार गर्नु हुनेछैन । परस्परमा सहमति भएका विषयहरूमा राष्ट्रिय स्तरमा वा विभिन्न जिल्लाहरूमा मिलेर काम गर्ने हाम्रो नीति कायम रहने छ । निश्चय नै त्यसको साथै मतभेद भएका प्रश्नहरूमा सङ्घर्ष गर्ने हाम्रो नीति पनि कायम रहने छ ।
प्यूठानको स्वर्गद्वारी नगरपालिको कार्यपालिकाको चुनावमा आफ्नो पक्षले हार्ने कुरा प्रष्ट भएपछि एमालेले आफ्नो मतदाताहरूलाई एक ठाउँमा हाल्नुपर्ने मत अर्को मतपेटिकामा हाल्न लगायो । त्यसको उद्देश्य थियो, पुनः मतदान गर्न लगाउने । निर्वाचनसम्बन्धी कानून अनुसार गलत पेटिकामा मत हालेका मतपत्रहरू स्वतः बदर गरेर सदर मदपत्रहरूको गणना गर्नु पर्दछ । तर निर्वाचन आयोगले त्यसरी मतगणना गराउनको सट्टा पुनः मतदान गर्ने आदेश थियो । जो स्पष्ट रूपले निर्वाचन ऐनको विरुद्धको कार्य थियो र एमालेको पक्ष लिएर नै त्यसो गरिएको थियो । तर पुनः मतगणना गर्दा पनि एमाले पराजित भयो र राजमो र माओवादी केन्द्रको पक्षको विजय भयो ।
आगामी २ नं. प्रदेशको चुनाव र प्रादेशिक तथा संसदीय चुनावको तयारी र सङ्गठनात्मक परिचालनका लागि पनि कैयौँ कार्यक्रमहरू बनाइएको छ । राजमोका निर्वाचित जनप्रतिनिधिहरूलाई इमान्दारितापूर्वक जनताका बीचमा काम वा विकासका कार्यगर्न पनि कैयौँ निर्देशनहरू दिएको छ ।
प्रस्तावको अन्तमा भनिएको छ ः “कुनै चुनावमा उम्मेदवार बन्नु वा विजय प्राप्त गर्नुलाई पनि कुनै पनि अवस्थामा व्यक्तिगत मान र प्रतिष्ठा वा उपलब्धिको विषय ठान्नु हुँदैन । चुनावमा हाम्रो त्यस प्रकारको सफलता एकातिर पार्टी र क्रान्तिका उद्देश्यहरू पूरा गर्नका लागि र अर्कातिर जनताको सेवा गर्नका लागि नै हो भन्ने कुरामा हामी सधैँ स्पष्ट हुनुपर्दछ । कुनै उम्मेदवारले प्राप्त गरेको सफलता पार्टीको सङ्गठन वा त्यसले निर्माण गरेको जनआधारमा नै हुन्छ । कसैले त्यसलाई व्यक्तिगत महत्वकांक्षा वा स्वार्थको रूपमा लिन्छ भने त्यो अत्यन्त गलत प्रवृत्ति हो । अहिले स्थानीय चुनावमा विजय भएका उम्मेदवारहरू वा आगामी प्रादेशिक वा संसदीय चुनावमा उम्मेदवार बन्ने हाम्रा सबै साथीहरूमा त्यस प्रकारको कुनै प्रवृत्तिले घर नजमाओस् भन्नका लागि एकातिर, व्यक्तिगत रूपमा सबै उम्मेदवारहरू र, अर्कातिर, पार्टी समेत पूरै नै सजग र सचेष्ट हुनुपर्दछ ।”
त्यो प्रस्तावको अन्तमा अगाडि भनिएको छ ः चुनाबको उपयोग तात्कालिक कार्यनीति हो र त्यो हाम्रो प्रधान पक्ष होइन । त्यस सिलसिलामा अगाडि भनिएको छ ः “चुनावको उपयोगका पछाडिको उद्देश्य रणनीतिक उद्देश्य र क्रान्तिकारी आन्दोलनका पक्षमा आधार तयार पार्ने नै हुन्छ र हुनुपर्दछ ।”
भेलामा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमका बाँकी कार्यहरू सम्पन्न गर्नेबारे पनि कैयौँ कार्यहरू बनाएको छ र त्यसका लागि सङ्गठनात्मक अभियान पनि सञ्चालन गर्ने निर्णय गरिएको छ ।
अन्तमा समापन कार्यक्रम सम्पन्न भयो । समापन कार्यक्रमको अध्यक्षता का. नवीन, सञ्चालन का. निर्मलबाट भएको थियो । समापन समारोहमा महामन्त्री का. मोहनविक्रम सिंह, पार्टी केन्द्रीय प्रवक्ता का. विमल शर्मा, विद्यार्थी मोर्चाबाट का. सञ्जय, जनजाति मोर्चाबाट का. प्रविण, समता मोर्चाबाट का. राजन, युवक मोर्चाबाट का. वासिङ्टन र स्वयंसेवक तथा व्यवस्थापनकोतर्फबाट का. विषयान्तरले समापन मन्तव्य राख्नुभएको थियो । अन्त्यमा समापन समारोहका अध्यक्ष नवीनद्वारा पाँचौँ राष्ट्रिय भेला भव्य र सानदार रूपमा सम्पन्न भएको घोषणा गरिएको थियो । समापन मन्तव्यपछि अन्तर्राष्ट्रिय नारा लगाइएको थियो ।
भेलाले दार्जिलिङ्गको भारतीय सङ्घ अन्तर्गत अलग राज्यको माग गरेर चलिरहेको आन्दोलनलाई हाम्रो पार्टीले समर्थन गर्ने निर्णय गरेको छ । दार्जिलिङ्गको जस्तै स्थिति भएका भारतका कैयौँ राज्यहरूमा पृथक राज्यहरू बन्ने गरेका छन् । त्यो अवस्थामा दार्जिलिङ्गमा त्यस प्रकारको राज्यको निर्माणका मागलाई अस्वीकार गर्नु न्यायपूर्ण छैन भन्ने हाम्रो पार्टिको निष्कर्ष छ ।

मिति ः २०७४ श्रावण ८ गते

मोहनविक्रम सिंह
महामन्त्री