वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com

वक्तव्य

डोटीमा भारतीय प्रहरीहरू आएर एकजना नेपालीलाई अपहरण गर्न प्रयत्न गरेको कार्य अत्यन्त आपत्तिजनक र गम्भिर कुरा हो । त्योभन्दा गम्भीर र आपत्तिजनक कुरा यो हो कि त्यस प्रकारको गैर कानूनी कार्यमा संलग्न भारतीय प्रहरीहरूलाई नेपाल सरकारले स–सम्मान मुक्त गरिदिएको छ । त्यो कार्यले वर्तमान सरकारको भारतपरस्त चरित्रलाई उदाङ्गो बनाइदिएको छ । सरकारको त्यस प्रकारको चरित्रले आउने दिनमा नेपालको राष्ट्रियतामाथि अरू गम्भीर खतराको सङ्केत दिन्छ ।
भारतीय प्रहरीहरूले जुन नेपालीलाई अपहरण गर्ने प्रयत्न गरे, उसलाई गिरफ्तार गर्नु पर्ने आवश्यकता थियो वा थिएन ? भारतमा उ कुनै गैरकानूनी अपराधमा संलग्न थियो वा थिएन ? त्यो मुख्य विचारणीय विषय होइन । उ त्यस प्रकारको कुनै अपराधजन्य कारवाहीमा संलग्न भएको भए पनि दुई देशका बीचको सन्धि वा सम्झौतानुसार कानूनी प्रक्रियाद्वारा भारतले त्यो व्यक्तिको सुपुर्दगीको लागि कारवाही चलाउनु पर्ने थियो । त्यसो नगरिकन भारतीय प्रहरीहरूद्धारा नेपालको भूमिमा पसेर अपहरण गर्ने प्रयत्न गर्नु अन्तर्राष्ट्रिय कानून, दुई देशका बीचको सन्धि र समझौताका विरुद्धको तथा नेपालको सार्वभौमिकताको पनि विरुद्धको कुरा हो । 
आखिरमा भारतीय प्रहरीले बारम्बार त्यस प्रकारको हस्तक्षेपको कार्यवाही गर्ने साहस किन गर्दछ ? त्यसको मुख्य कारण हो नेपालका विभिन्न राजनीतिक दल वा सरकारको भारतपरस्त चरित्र । त्यसले गर्दा नै भारतीय प्रहरी वा शसस्त्र बलद्धारा बारम्बार नेपालका सीमाहरूको अतिक्रमण हुँदै आएको छ । त्यसैले डोटीको काण्ड प्रकट रूपमा जति गम्भीर देखिन्छ त्योभन्दा कैयौँ गुणा गम्भीर छ र सम्पूर्ण देश, नेपाली जनता र राजनीतिक शक्तिहरूको पनि त्यसप्रति ध्यान जानुपर्ने आवश्यकता छ ।
यस सन्दर्भमा यो स्वागतयोग्य कुरा हो कि राष्ट्रिय जनमोर्चाले सुदुरपश्चिमका कतिपय जिल्लाहरूमा त्यो घटनाका विरुद्ध जुलुस प्रदर्शन, सभा वा पत्रकार सम्मेलन समेत गरेर आफ्नो विरोध प्रकट गरेको छ । त्यहाँका अन्य कतिपय राजनीतिक पक्षहरूका नेताहरूले पनि त्यो घटनाको विरोध गरेर वक्तव्यहरू दिएका छन् । त्यो घटनाका विरुद्ध भएका कार्यक्रमहरू वा त्यस प्रकारको घटनाका विरुद्ध उठेको आवाजलाई नेकपा (मसाल)ले स्वागत गर्दछ र देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथिको विदेशी हस्तक्षेपका विरुद्ध सम्पूर्ण देशभक्त नेपाली जनता र राजनीतिक शक्तिहरूका बीचमा व्यापक ऐक्यवद्धतामा जोड दिन्छ । खास गरेर विद्यमान सरकारले एकपछि अर्को गर्दै नेपालको राष्ट्रियतामा आँच पुग्ने प्रकारका नीतिहरू अपनाउँदै र कारवाहीहरू गर्दै गइरहेको पृष्ठभूमिमा त्यस प्रकारको ऐक्यवद्धता अत्यन्त आवश्यक र निर्णयात्मक महत्वको कुरा बन्न गएको छ ।

मिति – २०७४ जेष्ठ २१ गते

मोहनविक्रम सिंह
महामन्त्री