वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com

वक्तव्य

केही दिन ज्वरो आएपछि यही महिनाको १४ गते म धापासीको ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना भएको थिएँ । हिजो २८ गते सन्चो भएर म कोठामा आएँ । 
मेरो मधुमेह रोगको चिकित्सक डा. मिमी गिरीकोमा वार्षिक नियमित स्वास्थ्य परिक्षण गर्दा मुटुमा दुईवटा भल्वमा लिकेज भएको, छातीको दुवैतिर पानी जमेको, इण्डोस्कपी गर्दा अल्सर भएको, रगतमा पनि केही इन्फेक्सन भएको, प्रोटीन र सोडियम पनि कम भएको र किड्नीमा पनि केही समस्या भएको देखिएको थियो । छातीको दुवैतिरको पानी निकालेर टिवीको शङ्का गरी परिक्षणको लागि बाहिर पठाइएको थियो । तर त्यसको परिक्षणपछि नर्मल भएको रिपोर्ट आयो । इण्डोस्कपी गरि मासु निकालेर वायोप्सीका लागि बाहिर पठाइएको थियो । त्यो पनि नर्मल भएको रिपोर्ट आयो । 
अस्पतालमा भर्ना भएको दोस्रो दिनदेखि नै ज्वरो बन्द भयो । तर अन्य विषयहरूमा लगातार परिक्षण र उपचार चलिरह्यो । अन्तमा सबै कुराहरू सामान्य भएपछि हिजो म डिस्चार्ज भएर कोठामा आएँ । अस्पतालमा सबै डाक्टर र नर्सहरूले अत्यन्त आत्मीयतापूर्वक उपचारमा सहयोग गर्नुभयो । डा. भगवान कोइरालाले धेरै रोग भएको हुनाले ग्राण्डीमा नै गएर उपचार गर्न सल्लाह दिनु भएको थियो र त्यो सल्लाह अनुसार चित्र बहादुर केसी, गोविन्द सिंह थापा र दुर्गा पौडेल समेतले ग्राण्डीमा ल्याएर भर्ना गरिदिनु भएको थियो । अस्पतालमा ग्राण्डी अस्पतालका प्रमुख डा. चक्रराज पाण्डे, ग्यास्ट्रोलोजी प्रमुख डा. विवेक शर्मा र छातीका प्रमुख डा. अर्जुन कार्की सहित करिब १ दर्जन चिकित्सकहरू मेरो उपचारमा संलग्न हुनुहुन्थ्यो । त्यसका लागि मैले सबै चिकित्सक र नर्सहरू समेतलाई धन्यवाद दिन चाहन्छु । अस्पतालका सबै चिकित्सकहरूले आफ्नो फीको सय प्रतिशत नै छुट दिने कुरा गर्नुभएको थियो भने उपचारमा लागेको एउटा ठूलो अंश पनि मलाई छुट दिइएको थियो त्यसको लागि पनि वहाँहरूलाई धन्यवाद दिन चाहन्छु । 
अस्पतालमा भर्ना भएपछि नेकपा मसालका कार्यकर्ता र समर्थकहरू, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी र हाम्रा विभिन्न जनवर्गीय सङ्गठनहरूका अध्यक्ष र महासचिव सहित थुप्रै साथीहरू अस्पतालमा आएर स्वास्थ्य लाभको शुभकामना दिनु भएको थियो । नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य, नेकपा माओवादीका अध्यक्ष विप्लव, नेकपा मालेका सिपी मैनाली, नेकपा संयुक्तका अध्यक्ष गणेश शाह, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टाई समेत ती दल वा सङ्गठनहरूका थुप्रै नेता र कार्यकर्ताहरू समेतले अस्पतालमा आएर स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।
त्यो क्रममा माओवादी केन्द्रका अध्यक्ष तथा प्र.म. पुष्पकमल दाहाल(प्रचण्ड), एमालेका उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधव कुमार नेपाल, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित विभिन्न दल वा सङ्गठनका नेता, सांसद, भूतपूर्व वा बहालवाला मन्त्री र थुप्रै कार्यकर्ताहरू समेत अस्पतालमा आएर स्वास्थ्य लाभको शुभकामना दिनु भएको थियो । त्यो बाहेक ठूलो सङ्ख्यामा हाम्रा साथीहरू, इस्टमित्र र शुभचिन्तकहरूले पनि आएर स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । धेरैले देश विदेशबाट फोन तथा सामाजिक संजालमार्फत् चिन्ता प्रकट गर्दै स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । वहाँहरू सबैप्रति मैले कृतज्ञता प्रकट गर्दछु ।
प्रधानमन्त्री प्रचण्डले उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने कुरा बताउनु भएको थियो । तर हाम्रो पार्टीका कार्यकर्ता र शुभचिन्तकहरूले नै उपचारका लागि सहयोगको व्यवस्था गरिसक्नु भएको थियो । त्यसैले वहाँलाई धन्यवाद दिंदै सरकारबाट दिने भनेको सहायता तत्काल आवश्यक नभएको रपछि आवश्यक भएमा माग गर्ने कुराको जानकारी गराएका थियौँ । सरकारबाट कुनै सहयोग लिनुलाई हामीले नीतिगत रूपमा नै गलत मान्दैनौँ । तैपनि तत्काल त्यस प्रकारको सहायता आवश्यक नभएको हुनाले नै हामीले त्यो सहयोग नलिने समझ्दारी बनाएका थियौँ । उपचारको लागि देशविदेशबाट जुन साथीहरूले सहयोग गर्नुभयो, त्यसका लागि पनि वहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु । 
अन्तमा, देश र विदेशका थुप्रै साथीहरू र शुभचिन्तकहरूको स्वास्थ्य लाभको कामना र ग्राण्डी अस्पतालका चिकित्सकहरूको उपचारबाट मलाई जुन स्वास्थ्य लाभ भएको छ, त्यसले देश र जनता वा पार्टी र क्रान्तिको सेवा गर्नका लागि मलाई अरू अवसर प्राप्त हुनेछ भन्ने मैले आशा गरेको छु र त्यस अनुसार बढीभन्दा बढी योगदान दिने मेरो कोशिस रहने छ । 
मिति ः २०७३ माघ २९ गते

मोहनविक्रम सिंह
महामन्त्री