निर्मला पन्त प्रकरण ः के त्यहाँ ‘शीतयुद्ध’ चलिरहेको छ ?

–मोहनविक्रम सिंह
कञ्चनपुरकी १३ वर्षिया छात्रा निर्मला पन्तको बलात्कार र हत्याको मुद्दा अब स्थानीय प्रश्नमात्र रहेको छैन, त्यो राष्ट्रिय महत्वको विषय बनेको छ । बलात्कार र हत्या भएको करिब २ महिनापुग्न लाग्दा पनि त्यो काण्डसँग सम्बन्धित अपराधीहरू पत्ता लाग्न सकेको छैन । त्यससित सम्बन्धित र त्योभन्दा अर्को महत्वपूर्ण प्रश्न यो हो ः त्यो घटनासँग सम्बन्धित अपराधीहरूलाई योजनावद्ध प्रकारले लुकाउने प्रयत्न भइरहेको शङ्का गर्नका लागि ठाउँ छ । त्यो प्रयत्न कोद्वारा भइरहेको छ ? त्यो एउटा गम्भीर र रहस्यमय प्रश्न बनेको छ । त्यो समस्यालाई छिटै समाधान गर्न नसक्ने वा रहस्यलाई उद्घाट गर्न नसक्ने हो भने गृहमन्त्रालय र सम्पूर्ण सरकारको प्रतिष्ठा र अस्तित्वमा नै आँच पुग्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यो घटनाका सन्दर्भमा कैयौँ महत्वपूर्ण प्रश्नहरू उठेका छन्, जसमध्ये यी दुई प्रश्नहरू महत्वपूर्ण रहेका छन् ः प्रथम, एउटा निर्दोष व्यक्ति दिलिप विष्टलाई किन ‘डमी’ अपराधीका रूपमा प्रस्तुत गरियो ? द्वितीय, उच्चस्तरीय जाँचबुझ समितिका एकजना सदस्य वीरेन्द्र के.सी.ले कुन प्रकारको परिस्थितिमा राजिनामा दिन बाध्य हुनुपर्‍यो ?
निर्मला पन्तको बलात्कार र हत्याकाण्डबाट नेपालका सम्पूर्ण महिलाहरू माथिको बलात्कार र हत्याको समस्या गम्भीर रूपमा मात्र देखापरेको छैन । त्यो घटनाले सम्पूर्ण सरकारी यत्र नै असफल भएको देखिन्छ । कञ्चनपुरको घटना प्रतिनिधि घटना हो । तर देशभरमा यस प्रकारका घटनाहरू लगातार घटिरहेका छन् । यो अनुमान गर्नका लागि ठाउँ छ कि त्यस प्रकारका जति घटनाहरू बाहिर आएका छन्, देशमा त्योभन्दा कैयौँ गुणा बढी बलात्कारका घटनाहरू हुने गर्दछन् । तर धेरै महिला वा बालिकाहरूमाथि भएका त्यस प्रकारका तथ्यहरूलाई बाहिर ल्याउने गरिदैन । किनभने त्यस प्रकारका घटनाहरूबारे समाचार सार्वजनिक भएपछि उनीहरूको जीवन नै बर्बाद हुन्छ भन्ने उनीहरूलाई डर हुन्छ । कन्या केटीहरूको विवाह हुन मुस्किल हुन्छ भने विवाहित महिलाहरूको दाम्पत्य जीवन र सम्पूर्ण सामाजिक प्रतिष्ठा नै समाप्त हुने डर हुन्छ । यो कुरालाई अझै स्पष्ट शब्दमा भन्ने हो भने बलात्कृत महिलाहरू सम्पूर्ण समाज वा आफ्नै परिवारद्वारा पनि अपमानित वा बहिष्कृत हुन्छन् ।
अहिलेको निर्मला पन्तको बलात्कार र हत्याको घटना स्वयं सरकारको लागि नै एउटा ठूलो चुनौती र गम्भीर परीक्षाको विषय भएको छ । सम्पूर्ण देश र जनताले यो जान्नका लागि सरकारतर्फ हेरिरहेका छन् ः त्यसमा सरकारको आगामी कदम वा भूमिका के हुन्छ । सायद त्यो नाटकको एउटा परिदृष्यजस्तै भएको छ, जहाँ अगाडि आउने परिदृष्य जान्नका लागि दर्शकहरूले उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका हुन्छन् । यो कुरा स्पष्ट छ कि कञ्चनपुरको घटनासित सम्बन्धित व्यक्तिहरूले त्यो घटनामाथि ढाकछोप गर्ने र दोषिलाई बचाउन योजनावद्ध र सङ्गठित रूपले प्रयत्न गरिरहेका छन् । त्यस प्रकारको प्रयत्न कोद्वारा भइरहेको छ ? सायद आउने दिनहरूमा त्यो कुरा प्रष्ट हुनेछ वा यो कुरालाई अस्वीकार गर्न सकिन्न कि सायद कहिल्यै पनि त्यससम्बन्धी वास्तविक तथ्य जनताका अगाडि आउने छैन र दोषिलाई कहिल्यै सजाय हुने छैन । धेरै घटनाहरूमा त्यस्तो हुने गरेको छ र अहिले पनि त्यस प्रकारको सम्भावनालाई पूरै अस्वीकार गर्न सकिन्न । अहिलेसम्म गृहमन्त्रालयले गरेको प्रयत्नबाट उनीहरूले घटनाको गहिराईमा पुग्न र वास्तविक दोषिलाई पत्ता लगाउन प्रयत्न गरेको नै देखिन्छ । त्यसरी सरकार र उक्त अपराधमा संलग्न पक्षका बीचमा एक प्रकारको शीतयुद्ध नै चलेको जस्तो देखिन्छ । त्यो शीतयुद्धमा कुन पक्षको जित हुनेछ ? त्यो सम्पूर्ण महिला जगत र सरकारका लागि समेत महत्वपूर्ण कुरा हुनेछ । अब निर्मला पन्तको विषय खालि महिला जगतसित मात्र सम्बन्धित रहन गएको छैन । त्यो प्रश्न अब सम्पूर्ण देश र मानवतासँग सम्बन्धित एउटा गम्भीर राष्ट्रिय प्रश्न बन्न गएको छ । पीडित पक्षलाई न्याय दिनु सरकारको दायित्व हुन्छ । तर यदि सरकार त्यसमा असफल भयो भने त्यो प्रश्नलाई हातमा लिनु र सङ्घर्ष अगाडि बढाउनु सबै महिलाहरू, न्यायप्रेमी जनता, सङ्घसंस्था, राजनीतिक पार्टीहरूको पनि दायित्व हुन्छ । उक्त घटनाको सन्दर्भमा सरकारले आफ्नो दायित्व पूरा गर्न सकेन भने सरकार फेल भएको प्रमाणित हुनेछ । तर हामीले आशा र कामना गर्दछौँ, त्यस्तो हुने छैन ।
अहिलेसम्म उक्त विषयमा सही निस्कर्षमा पुग्न सरकार जसरी असफल भएको छ, त्यसले एकातिर, स्थितिको गम्भीरतामा र अर्कोतिर, सरकार र प्रशासन यन्त्रभित्र पनि गम्भीर कमजोरी रहेको कुरालाई बताउँछ । यदि सरकार त्यस प्रकारको कमजोरीमाथि विजय प्राप्त गर्न असफल हुन्छ भने त्यसको अर्थ सरकार निर्मला बलात्कार र हत्याकाण्डसँग सम्बन्धित व्यक्तिहरू तथा उनीहरूको सञ्जालबाट–त्यो सञ्जाल कहाँसम्म फैलिएको छ ? यो अर्को गम्भीर प्रश्न हो – मात्र पराजित भएको हुनेछैन, त्यसले अन्य नीति, कार्यक्रम वा कार्यहरूमा पनि सरकारलाई असफल पार्दै लैजाने छ । एउटा सामान्य किशोरीको बलात्कार र हत्याको घटनामा पनि सरकारले प्रभावशाली भूमिका खेल्न सक्दैन र त्यसमा पराजित हुनुपर्ने स्थिति पैदा हुन्छ भने अन्य प्रश्नहरूमा पनि सरकार स्वतन्त्र र प्रभावशाली प्रकारले भूमिका खेल्न नसक्ने वा, अर्काशब्दमा, असहाय र निरिह बन्दै जाने कुराको सजिलैसित अनुमान गर्न सकिन्छ । जुन प्रकारको अवस्था वा स्थितिले सरकारलाई निर्मला प्रकरणमा सशक्त भूमिका खेल्न असमर्थ बनाउने छ, त्यही अवस्था वा परिस्थितिले अन्य विषयहरूमा पनि सरकारलाई दवाउँदै जाने छ । हामीले निर्मला पन्तको बलात्कार र हत्याको प्रश्नलाई त्यही प्रकारको गम्भीर अर्थमा लिएका छौँ र लिनुपनि पर्दछ भन्ने हाम्रो दृढ मत छ । वास्तवमा अब यो प्रश्न सामान्य प्रश्न रहन गएको छैन ।
कञ्चनपुरको बलात्कार र हत्याकाण्डका सिलसिलामा अगाडि सारिएको दिलिप विष्टको प्रस्तुतीले पनि एउटा गम्भीर र नकारात्मक कुराको सङ्केत गर्दछ । त्यो कारवाही कानून र मानव अधिकारको पनि चरम प्रकारको उल्लङ्घन हो । त्यसकारण त्यसबारे सबै न्यायप्रेमी जनता र मानव अधिकारवादीहरूले गम्भीर र व्यापक रूपले आवाज उठाउनुपर्ने आवश्यकता छ । त्यसले कानून र मानव अधिकारसम्बन्धी कैयौँ गम्भीर प्रश्नहरू उठाउँछ । एउटा अपराधिलाई बचाउनका लागि एउटा निर्दोष व्यक्तिलाई ‘वलीको बोका’ बनाउने प्रयत्न किन गरियो ? जब कञ्चनपुरका जनताले त्यस प्रकारको प्रयत्नको विरोध गरे, उनीहरूमाथि अन्धाधुन्ध गोली चलाउने काम गरियो । त्यस प्रकारको गोलिकाण्डबाट एकजनाको मृत्यु भयो, दुईजना गम्भीर रूपले घाइते भए, जसमध्ये एकजनाको खुट्टा समेत काटिएको छ भने करिब दुई दर्जन मानिसहरू घाइते भए । आखिरमा कुन उद्देश्य पूरा गर्नका लागि त्यस प्रकारको कारवाही गरिएको थियो ? के सामान्य शान्ति स्थापना वा हिंसात्मक कारवाहीमाथि नियन्त्रण गर्न नै त्यस प्रकारको कारवाही गरिएको थियो ? बताइरहनुपर्ने आवश्यकता छैन कि एकजना वा एकाध अपराधीहरूलाई बचाउनका लागि नै त्यस प्रकारको कारवाही गरिएको थियो । यो प्रश्न खालि कञ्चनपुरको स्थानीय प्रशासनसित मात्र सम्बन्धित प्रश्न होइन, त्यो केन्द्रीय सरकारसित पनि सम्बन्धित प्रश्न हो । वास्तवमा अब त्यो प्रश्न स्थानीय प्रशासन र प्रहरीसित होइन, केन्द्रिय सरकारसित नै बढी जोडिन गएको छ ।
यस सन्दर्भमा वीरेन्द्र के.सी.को प्रश्न पनि सामान्य कुरा होइन । एउटा उच्च अधिकृतले आफ्नो कत्र्तव्य पालनको सिलसिलामा बाध्य भएर राजिनामा दिनुपर्छ । आखिर त्यो कुन छद्म शक्ति थियो, जसका कारणले उनी राजिनामा दिन वाध्य हुनुपरेको थियो ? प्रशासनबारे अहिलेसम्म हामीलाई जेजति जानकारी र अनुभव प्राप्त भएको छ, त्यसबाट थाहा हुन्छ कि प्रशासनमा कैयौँ इमान्दार र कत्र्तव्यपरायण कर्मचारीहरू पनि हुन्छन् । तर प्रशासनभित्रका भ्रष्ट र गलत तत्वहरूका कारणले उनीहरूलाई काम गर्न मुस्किल पर्दछ । सायद त्यही प्रकारको स्थिति वीरेन्द्र केसीका अगाडि पनि देखापर्‍यो र उनी राजिनामा दिन वाध्य भए । तर यस सन्दर्भमा यो खुसीको कुरा हो कि उनी आफ्ना जिम्मेवारी पूरा गर्न पुनः कार्यक्षेत्रमा जान तयार भएका छन् । समाचार माध्यमहरूद्वारा थाहा भए अनुसार गृहमन्त्रीसितको कुराकानीपछि उनी पुनः आफ्नो जिम्मेवारी सम्हाल्न तयार भएका छन् । उनी कुशलता पूर्वक आफ्ना जिम्मेवारी पूरा गर्न वा जुन तत्वहरूको दवाव वा धम्कीहरूका कारणले उनी पछाडि हट्न वाध्य भएका थिए, उनीहरूको अगाडि उनी पराजित हुनुपर्दछ वा उनी आफ्नो मिसन पूरा गर्न सफल हुनेछन् ? आउने दिनहरूमा त्यो कुरा प्रष्ट हुन्छ । उनको असफलताको अर्थ हुनेछ, निर्मला बलात्कार र हत्याकाण्डका अपराधीहरूलाई अगाडि आउने अबसर प्राप्त हुनु । त्यसको विपरित उनी आफ्नो कार्यमा वा वास्तविक अपराधीलाई सार्वजनिक गर्न सफल हुन्छन् भने त्यो खाली उनको व्यक्तिगत सफलता मात्र हुनेछैन र त्यो राष्ट्रिय महत्वको सफलता हुनेछ । उनको त्यस प्रकारको सफलताले सम्पूर्ण महिला जगत र देश तथा सरकारका लागि पनि निर्णयात्मक महत्व राख्ने छ । तर यो कुरा प्रष्ट छ, जुन तत्वहरूको दवाव वा धम्कीका कारणले उनी राजिनामा दिन बाध्य हुन परेको थियो, उनीहरूले उनको पुनःआगमनलाई सहज रूपमा लिने छैनन् र उनको कार्यमा बाधा पुर्‍याउन पूरा शक्ति लगाउने छन् । यससित जोडिएको अर्को प्रश्नतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ः उक्त बलात्कार र हत्याकाण्डलाई दवाउन उनीहरूले केन्द्रीय सरकारलाई पनि प्रभावित पार्न प्रयत्न गर्नेछन् । केन्द्रीय सरकार यस प्रकारको प्रभावमा आयो र त्यसले प्रत्यक्ष वा अप्रत्यक्षरूपले अपराधीलाई बचाउने कार्यमा सहयोग गर्ने नीति अपनायो भने त्यो सरकारका लागि आत्मघाती कार्य त हुने नै छ, त्यसका साथै सम्पूर्ण महिला जगत तथा देशका लागि पनि ठूलो दुर्भाग्यको कुरा हुनेछ । त्यो अवस्थामा उक्त प्रश्नलाई आफ्नो हातमा लिनु बाहेर जनताका अगाडि कुनै विकल्प बाँकी रहने छैन । तर जनताले त्यो प्रश्नलाई कसरी आफ्नो हातमा लिनेछन् ? उनीहरूले तत्काल नै त्यो दिशामा पहल गर्नेछन् वा त्यसका लागि केही समय वा लामो समय भविष्यलाई कुर्नुपर्नेछ ? त्यसबारे अहिले हामीहरू केही भन्नसक्ने स्थितिमा छैनौँ । तर यसबारे यो कुरा निश्चित रूपले भन्न सकिन्छ ः निर्मला पन्तको प्रकरणले अब देशमा एउटा अग्नी ज्वालाको रूप लिइसकेको छ । जसले त्यसलाई निभाउने प्रयत्न गर्नेछन्, स्वयं उनीहरू नै त्यो अग्नी ज्वालामा भस्म हुनेछन् । तर सायद हामीले त्यति लामो भविष्यको प्रतिक्षा गर्नुपर्ने छैन र छिटै नै सरकार उक्त अपराधसित सम्बन्धित अपराधिहरूलाई पत्ता लगाउन र सजाय दिन सफल हुनेछ भन्ने हामीले आशा गरेका छौँ ।
महिलाहरूमाथि हुने बलात्कारको सन्दर्भमा एउटा अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । बलात्कृत महिलाहरूले यस्तो ‘अपराध’का लागि जनमभरि नै कडा दण्ड सजाय भोग्नुपर्दछ, जसको लागि उनीहरूले कुनै अपराध गरेका हुँदैनन् । एउटी महिला बलात्कृत हुन्छिन् । त्यसमा उनको के दोष हुन्छ ? उनले के अपराध गरेकी हुन्छिन् ? बलात्कारको सिलसिलामा जुन महिलाको हत्या गरिन्छ, उनीहरूले ता कुनै दुःख वा पीडाको सामना गर्नुपर्दैन । किनभने मृत्युपछि सबै दुःख र पिडाहरूबाट उनीहरू मुक्त हुन्छन् । खाली उनीहरूका बुबा–आमा वा इष्टमित्रहरूले नै दुःख र पीडाको सामना गर्नुपर्दछ । तर बलात्कार भएपछि पनि जीवित रहेका महिलाहरूले जीवनभरि नै दुःख र पीडाको सामना गरी रहनु पर्छ । त्यस्तो यसकारणले हुन्छ कि समाजले उनीहरूलाई अपमान, निरस्कार र बहिष्कार गर्दछ । स्वयं परिवार पनि त्यसबाट अपवाद हुँदैन । आफ्नै परिवार उनीहरूका लागि दुश्मन बन्न पुग्दछ । समाजको त्यस प्रकाको मानसिकता गलत र अमानवीय छ । त्यसमा सुधारको आवश्यकता छ । बलात्कृत महिलाहरूलाई हामीले आदर, सम्मान र माया गर्नुपर्दछ । उनीहरूलाई पर्याप्त क्षतिपूर्ति दिनुपर्दछ । सरकारले पीडकलाई अपराध अनुसार दण्डसजाय गर्न सक्दछ र गर्नु पनि पर्दछ । तर अन्ततः बलात्कृत महिलाहरूलाई क्षतिपूर्ति दिने दायित्व अन्ततः सरकारको नै हुनुपर्दछ । त्यति मात्र होइन, सरकारले उनीहरूको जीवन निर्वाह र सुरक्षाको पूरा जिम्मा लिनु पर्छ । सरकारले यो व्यवस्था गर्नुपर्छ कि जीवनभरि नै उनीहरूले सम्मानित जीवन बिताउन सकुन् । त्यसका लागि उनीहरूलाई आवश्यकतानुसार शिक्षा, प्रशिक्षण वा जीवन निर्वाहका लागि पेन्सन समेत दिने व्यवस्था गर्नुपर्छ । कानूनमा नै त्यस प्रकारको व्यवस्था गरिनु पर्दछ ।
कञ्चनपुरको घटनासँग जोडिएको अर्को महत्वपूर्ण पक्ष यो हो कि त्यहाँका जनताले त्यहाँ भएको निर्मला पन्तको हत्या र बलात्कारको घटनालाई दवाउने वा त्यसमाथि ढाकछोप गर्ने प्रयत्नका विरुद्ध उच्च प्रकारको सतर्कता र जागरुकता देखाएका छन् । त्यस प्रकारको भूमिकाका कारणले नै उक्त अपराधमाथि ढाकछोप गर्ने वा त्यसलाई दवाउन विभिन्न चरणमा र योजनावद्ध प्रकारले गरिएका प्रयत्नहरू सफल हुन सकेनन् र अब त्यो राष्ट्रिय प्रश्न बनेको छ । देशका कैयौँ भागहरूमा महिला वा बालिकाहरूको बलात्कार र हत्या हुने गर्दछ । तिनीहरूबारे मेलमिलाप वा ढाकछोप गर्ने प्रयत्न पनि गरिन्छ । तर त्यस प्रतिको जनताको उदासीन व्यवहारका कारणले ती घटनाहरू छिटै सेलाएर जान्छन् । त्यसका विपरित निर्मला पन्तको हत्या र बलात्कारका विरुद्ध स्थानीय जनताले उच्च प्रकारको जागरुकता र सतर्कता देखाएर देशमा एउटा नयाँ र गौरवपूर्ण इतिहासको निर्माण गरेका छन् । त्यसबाट सम्पूर्ण देश र जनताले शिक्षा र प्रेरणा लिनु पर्दछ । खाली बलात्कार र हत्याका विषयहरूमा मात्र होइन, समाजमा हुने सबै अन्यायपूर्ण व्यवहारका विरुद्धमा जनतामा त्यस प्रकारको जागरुकता र सतर्कता देखापर्‍यो भने हाम्रो देशले छिटै कोल्टे फर्ने कुरामा कुनै शङ्का छैन । कञ्चनपुरका जनताको त्यस प्रकारको भूमिका लागि हामीले उनीहरूलाई बधाई दिन्छौँ र उनीहरूको भूमिकाको उच्च मूल्याङ्कन गर्दछौँ । त्यसका साथै हामीले निर्मला पन्तकी आमा दुर्गा देवीपन्त र उनका पति यज्ञराज पन्तलाई पनि धन्यवाद दिन चाहन्छौँ, जसले आफ्नो छोरीमाथि भएको अत्यन्त घृणित, क्रुर, अमानवीय र वर्वर अत्याचारका विरुद्ध अग्रिम पंक्तिमा रहेर न्यायका लागि आफ्नो आवाज बुलन्द गरिरहेका छन् ।
मिति ः २०७५ भाद्र २९ गते