कमरेड कमलराज रेग्मी

–मोहन बिक्रम सिंह
सर्वप्रथम त कमलराज रेग्मीलाई कमरेड भनेर किन सम्वोधन गरिएको छ ? त्यो कुरा स्पष्ट गर्न चाहन्छु । उहाँले करिब २ बर्ष पहिले नेकपा मसालको सदस्यताको लागि दरखास्त दिनुभएको थियो । जस्तो कि पार्टीको नियम हुन्छ, उहाँ जीवित छँदासम्म हामीले त्यो कुरालाई गोप्य नै राखेका थियौँ । अहिले उहाँको निधनपछि हामीले त्यो कुरालाई सार्वजनिक गरेका छौँ । उहाँले पार्टी सदस्यताका लागि दरखास्त दिनुभएको हुनाले हामीले उहाँलाई कमरेड नै भन्छौँ र उहाँको मृत्युपछि हामीले त्यो कुरालाई सार्वजनिक गरेका छौँ । 
२०१० सालमा मैले पार्टीको सदस्यताका लागि उहाँलाई दरखास्त दिएको थिएँ । त्यसको करिब ६ दशकभन्दा केही बढी समयपछि उहाँले पार्टी सदस्यताका लागि मलाई दरखास्त दिनु भो । आफुनो समयमा उहाँ अत्यन्त जुझारु, लडाकु र क्रान्तिकारी कम्युनिस्ट नेता हुनुहुन्थ्यो । उहाँ जस्तो क्रान्तिकारी नेताको क्रान्तिकारीतामा किन निरन्तरता रहन सकेन, त्यो वास्तवमा उहाँको व्यक्तिगत मात्र समस्या होइन, कम्युनिस्ट आन्दोलनको नै एउटा गम्भीर समस्या हो । नेपालको कम्युनिष्ट आन्दोलनमा कुनै बेला अत्यन्त सक्रिय र क्रान्तिकारी भूमिका खेलेको नेता वा कार्यकर्ताहरूको विचलन भएका सयौँ, करोडांै, हजारौँ उदाहरणहरू हाम्रा अगाडि छन् । ती मध्ये एउटा नाम रेग्मीको हो । तर ती सबैभन्दा बेग्लै रेग्मीको महत्व यो कुरामा छ कि उहाँले आपूmमा आएको विचलनका लागि पश्चाताप गर्नुभयो र पुनः कम्युनिष्ट पार्टीको सदस्यताका लागि दरखास्त दिनुभयो । पार्टीको सदस्यताका लागि दरखास्त दिने बेलामा उहाँले भन्नु भएको थियो ः अव मेरो वृद्ध अवस्था र स्वास्थ्यका कारणले मैले सक्रिय भएर पार्टीको काम गन सक्दिन । तैपनि मैले जीवनमा जे जति गल्ति गरे पनि कम्युनिष्ट भएर मर्न चाहन्छु । मेरो ठूलो इच्छा यही छ कि म मरेपछि मलाई कम्युनिष्ट पार्टीको झण्डा ओढाइयोस् । 
पार्टीका धेरै सदस्यहरूको विचलन र पतन हुने गरेको छ । तर त्यस प्रकारका विचलन वा पतनका प्रकृतिहरू बेग्ला–बेग्लै प्रकारका रहेका छन् । उहाहरणका लागि डा. केशरजङ्ग रायमाझी र कमलराज रेग्मीलाई हामीले एउटै श्रेणीमा राख्न सक्दैनौँ । रायमाझी स्वभावले नै अवसरवादी थिए । २०१७ साल पुस १ गतेभन्दा पहिले पनि उनले दरवारसित साँठगाँठ गरेका थिए । पूरै पार्टीलाई राजावादी लाइन र पक्षमा लैजाने प्रयत्न गरिरहेका थिए । त्यसैले उनको पतन एउटा स्वभाविक प्रक्रिया थियो । तर कमलराज रेग्मीको बारेमा यो कुरा सत्य होइन । उहाँले करिव ५ वर्षको जेल जीवन बिताउनु भो, त्यो अवधिमा उहाँको परिवारले धेरै दुःख कष्टको जीवन बिताउनु पर्‍यो । त्यो बेला म पनि जेलमा थिएँ । मैले आफ्नो पिताजीसँग उहाँको पूरै परिवारलाई प्यूठानमा लगेर संरक्षण गर्ने कुरा पनि गरेको थिएँ । उहाँले त्यो कुरा स्वीकार पनि गर्नु भएको थियो । तर, सायद विमलाजीले यसो गर्न चाहाना गर्नु हुन्नथ्यो । एकातिर उहाँको स्वाभिमान र अर्काेतिर आफ्नो पतिको सम्पर्कबाट टाढा हुने कुरा स्वीकार्य थिएन । त्यसैले कयौँ दुःख कष्ट गर्दै जेलमा भएका आफ्ना पति र आफ्ना साना केटाकेटीहरूको स्याहार सुसार गर्ने काममा उहाँ लागिरहनु भो । वास्तवमा उहाँ अत्यन्त सेवापर्याय र अत्यन्त विलक्षण महिला हुनुहुन्थ्यो । यो कमलजीको ठूलो सौभाग्य थियो कि उहाँले विमला जस्ती पत्नी पाउनु भो भने उहाँका छोराछोरीहरूले उहाँ जस्ती आमा पाए । 
आफ्ना परिवारले जुन प्रकारका दुःख पाएका थिए, त्यसको ठूलो असर कमलजीमा पर्नु स्वभाविक थियो र पर्‍यो पनि । सायद त्यो स्थितिले नै उहाँलाई कमजोर बनाउँदै लग्यो । त्यसको अर्काे पक्ष पनि छ, २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनले रायभमाझी लाइनका विरुद्ध विद्रोह गर्‍यो । तर त्यसपछि बनेको केन्द्रीय समितिले पार्टीको कामलाई निरन्तरता दिन सकेन । पार्टीको केन्द्रीय समिति कयौँ टुक्राहरूमा बाँडियो । त्यो स्थितिले पनि कमलजीलाई धेरै निराश बनाउँदै लग्यो । शायद त्यो प्रकारको स्थितिले गर्दाखेरि नै उहाँले आफूलाई दृढ राख्न सक्नु भएन र उहाँमा विचलन आयो । त्यो स्थितिमा नै उहाँ जेलबाट छुट्नु भो । पार्टीमा सम्पर्क गर्नको लागि कुनै पार्टी केन्द्र थिएन । पार्टी कयौँ टुक्रामा बाँडिएको थियो । उहाँका अगाडि पार्टीका सबै ढोकाहरू बन्द थिए । त्यो स्थितिको सामना गरेर पार्टीलाई पुनः निर्माण गरेर अगाडि बढ्न उहँँले हिम्मत गर्न सक्नु भएन । त्यो अवस्थामा पञ्चायतमा प्रवेश नै उहाँले एउटा मात्र बाटो देख्नु भयो । रायमाझीले उच्च महत्वाकांक्षाद्धारा प्रेरित भएर पञ्चायतमा प्रवेश गरेका थिए भने रेग्मीजीले परिस्थितिजन्य बाध्यताका कारणले । त्यसैले दुवैका बीचमा भएको यो अन्तरमाथि हाम्रो ध्यान जान आवश्यकता छ । रेग्मी र मैले लामो समयसम्म पार्टीमा साथसाथै काम गरेका थियौँ । २०१० सालमा मैले पार्टीको सदस्यताका लागि उहाँलाई दरखास्त दिएपछि उहाँले प्यूठानमा पार्टीको स्थापनामा महत्वपूर्ण योगदान दिनुभएको थियो । मैले पार्टीमा सदस्यताका लागि दरखास्त दिएपछि प्यूठानमा सामान्य प्रकारले पार्टीको सङ्गठन गर्नेभन्दा एउटा प्रशिक्षण शिविर सञ्चालन गरेर पार्टीको सङ्गठन अगाडि बढाउने योजना बनाएँ । त्यसका लागि तीन महिने आवाशीय प्रशिक्षण शिविर सञ्चालन गर्ने प्रस्ताव त्यो बेलामा हाम्रो प्रान्तका प्रान्तीय सेक्रेटरी डा. रायमाझीसित राखें । तर उनले मेरो कुरालाई हाँसोमा उडाउँदै भने ः यो असम्भव छ । ठूलो पार्टी–सङ्गठन भएका जिल्लाहरूले त त्यो कार्य गर्न सकेका छैनन् भने प्यूठान जस्तो अहिलेसम्म पार्टी वा जनवर्गीय सङ्गठनको एक जना सदस्यसम्म नभएको जिल्लामा त्यो कार्य हुनै सक्दैन । तर कमलजीले मेरो प्रस्तावलाई उत्साहपूर्ण समर्थन गर्नु भयो र आवश्यक प्रशिक्षकहरूलाई पठाउने वचन दिनु भयो ।पछि शिविरमा उहाँ स्वयम् पनि आउनु भयो । 
प्यूठानमा पार्टीको स्थापनापछि पाल्पाको झडेवामा सम्पन्न पार्टीको प्रान्तीय सम्मेलनमा हामीले साथसाथै भाग लियौँ । जनकपुरको राष्ट्रिय किसान सम्मेलनमा हामीले साथसाथै भाग लियौँ । अरू बिभिन्न किसान सङ्घर्ष वा आन्दोलनहरूमा पनि हामीले साथसाथै भाग लियौँ । २०११ सालमा प्यूठानमा गिरफ्तार भएर पाल्पा जेलमा सरुवा भएपछि उहाँले हामीलाई मद्यत गरिरहनु भयो । प्यूठानमा हामी ६ जना गिरफ्तार भएका थियौँ, जसमध्ये तीन जनालाई पाल्पा जेल चलान गरिएको थियो । त्यो बेला हामीलाई प्रशासनले ‘ख’ श्रेणीको सीदा दिएको थियो । हामीले राजबन्दीलाई प्राप्त हुनुपर्ने ‘क’ श्रेणीको सीदाको माग गर्दै ‘ख’ श्रेणीको सीदा बुझेका थिएनौँ । त्यो बेलाको डेढ वर्षको पूरै अवधिमा नै हामीले सीदा बुझेका थिएनौँ । त्यो अवस्थामा हामीलाई राशन पानी पठाउनलाई पनि पाल्पाको पार्टीले धेरै मद्यत गरेको थियो । पाल्पा जेलमा अध्ययनको लागि धवल पुस्तकालयबाट पुस्तकहरू पठाउन पनि कमलजीले नियमित व्यवस्था मिलाई दिनुभएको थियो ।
पाल्पा जेलमा जेलर र नाइकेहरूका विरुद्ध लगातार कैयौँ आन्दोलनहरू चलेका थिए । त्यस प्रकारका आन्दोलनहरूको सञ्चालनका लागि जेलभित्र भूमिगत रूपमा पाल्पा जेलवन्दी सङ्घको स्थापना पनि भएको थियो, जो नेपालमा अहिलेसम्म जेलभित्र बनेको पहिलो र सायद अहिलेसम्मको अन्तिम सङ्गठन थियो । (त्यसको रिपोर्ट चार दशक प्रथम भागमा प्रकाशित भएको छ) त्यो आन्दोलनको क्रममा जेलरले का. खगुलाल गुरुङ र मलाई दुईपल्टसम्म बाहिर निकालेर कोर्रा लगाएका थिए । तेस्रोपल्ट पनि हामी दुवै जनालाई बोलाए । हामीले अन्दाज गर्‍यौँ, उनले यसपल्ट पनि हामीलाई कोर्रा लगाउन नै बोलाएका हुन् । हामीले आपसमा सल्लाह गरेर खगुलाल बाहिर नजाने र म मात्र जाने ठेगान गर्‍यौँ । बाहिर गएपछि कोर्रा लगाउन शुरु गर्ने वित्तिकै मैले जेलरलाई जुत्ताले हान्ने सल्लाह भयो । त्यसका लागि मैले जेलको कुनै वन्दीका फलामका काँटी लगाएका जुत्ता लगाएर गएको थिएँ । जेलरको अर्डरमा पुलिसले मलाई पिट्न शुरु गर्ने वित्तिकै मैले जुत्ता खोलेर जेलरलाई हानँे । जेलभित्र जुलुस र नारावाजी सुरु भयो । त्यसका सबै पुलिसहरूले एकैपटक लाठी, मुक्का र लात गरेर मलाई पिट्न थाले । त्यही बेला कमलजी त्यहाँ आइपुग्नु भयो । जेलमा नारावाजी भएको सुनेर उहाँ दगुर्दै दगुर्दै जेलतिर आउनु भएको थियो ।पछि हामीलाई थाहा भयो, मैले जेलरलाई पिटेपछि उसले भाग्न थालेको भनेर मलाई गोली हान्ने योजना बनाएको रहेछ । तर कमलजी आइपुगेको हुनाले उसले त्यसो गर्न सकेन । त्यसरी त्यो बेला वास्तवमा कमलजीको कारणले नै मेरो जीवन बचेको थियो । 
छिट्टै पार्टीमाथिको प्रतिबन्ध हट्यो । दोस्रो महाधिवेशनको तयारी सुरु भयो । महाधिवेशनको तयारीका सिलसिलामा रायमाझी प्यूठान आएका थिए । उनी बैधानिक राजतन्त्रका पक्षपाति थिए । उनको विचारबाट म पनि सहमत भएँ र बैधानिक राजतन्त्रको मतलाई समर्थन गरेँ । त्यस मतका साथ म महाधिवेशनमा गएको थिएँ ।पछि मलाई थाहा भयो कि कमलजी केन्द्रीय समितिमा गणतन्त्रको लाइनको पक्षमा हुनुहुन्थ्यो । महाधिवेशनमा गणतन्त्रको पक्षमा व्यापक वातावरण थियो । मैले गणतन्त्र पक्षका कैयौँ तर्कहरू सुनँे । त्यसपछि गणतन्त्र र बैधानिक राजतन्त्र मध्ये कुन मतलाई समर्थन गर्ने ? म दुविधामा परँे । तर केन्द्रीय समितिमा कमलजी गणतन्त्रको पक्षमा भएपनि महाधिवेशनमा उहाँले त्यो विचार प्रकट गर्नुभएन । महाधिवेशनको बेलामा रायमाझीको तीव्र विरोध भएको थियो । कतिपयले ता माझीलाई कुटपिट समेत गर्ने वा चक्कुले हान्ने समेत धम्की दिएका थिए । माझीमाथिको त्यस प्रकारको विरोधका कारणले कमलजी पनि माझीको पक्षमा उभिन पुग्नु भयो ।पछि केन्द्रीय समितिमा महामन्त्रीको चुनाव हुँदा कसले कसको पक्षमा भोट दियो ? त्यो ता थाहा हुन सकेन तर महाधिवेशनको बेलामा म तटस्थ रहेको भए पनि मैले गणतन्त्रको लाइनको पक्षमा नै मतदान गरें । महाधिवेशनले गणतन्त्रको लाइनलाई पारित गरेको थियो । त्यसकारण मैले त्यसलाई समर्थन गरिरहेँ रपछि केन्द्रीय समितिमा गणतन्त्र र बैधानिक राजतन्त्रका बीचमा मतभेद भयो । माझीको पक्ष बहुमतमा भयो र गणतन्त्रको पक्ष अल्पमतमा पर्‍यो । कमलजी बहुमतको पक्षमा उभिनुभयो भने म अल्पमतको पक्षमा । केन्द्रीय समितिमा लगातार त्यसबारे दुईलाइनको सङ्घर्ष चलिरह्यो ।पछि संविधानसभाको प्रश्नमा पनि दुईलाइनको सङ्घर्ष चल्यो । जसमा माझीको नेतृत्वको बहुमत त्यसका विरुद्ध थियो भने पुष्पलाल, शम्भुराम सहित हामीहरू संविधानसभाको पक्षमा अल्पमतमा थियौँ । यो कुरा बेग्लै हो कि पौष १ गतेको घटनापछि दरभङ्गामा भएको प्लेनममा पुष्पलाल, शम्भुरामहरूले पनि संविधानसभाको नारालाई छोड्नु भयो र केन्द्रीय समितिमा त्यसका पक्षमा म एकजना मात्र बाँकी रहँे । तर प्लेनमले अत्याधिक बहुमतले संविधानसभाको नारालाई पारित गरेको थियो ।
पौष १ गतेको घटनापछि म बनारसमा नै बस्न थालेँ । कमलजी गिरफ्तार भएर जेलमा हुनुहुन्थ्यो । त्यही बेला उहाँले जेलबाट पठाएको एउटा पत्रमा रायमाझीले दक्षिणपन्थी लाइन लिएको कुरा बताउनु भएको थियो । त्यसपछि उहाँ माझीको लाइनप्रति असन्तुष्ट हुँदै जानुभएको थियो । 
जस्तो कि मैलेमाथि बताएँ, तेस्रो महाधिवेशनपछि पैदा भएको पार्टीको अत्यन्त प्रतिकूल स्थितिमा उहाँले जेलमा बस्नुको कुनै औचित्यता देख्नु भएन । उहाँ क्रमशः निराश हुँदै र टुट्दै जानुभयो र जेलबाट समेत छुट्नु भयो । कपिलवस्तु, भैरहवा हुँदै मलाई काठमाडौँको सेन्ट्रल जेलमा चलान गरियो । म काठमाडौँ आउँदासम्म उहाँ जेलबाट छुटिसक्नु भएको थियो । जेलमा उहाँ स्वयं त मलाई भेट्न आउनु हुदैनथ्यो । तर विमलाजीलाई लगातार मलाई भेट्न पठाउनु हुन्थ्यो । २०२७ मा जेलबाट छुटेको एकवर्षपछि मेरा नाममा बारेन्ट काटियो र म भूमिगत भएँ । तर त्यो अवस्थामा पनि म प्रायशः उहाँलाई भेट्न जान्थँे र कतिपयपल्ट उहाँको घरमा समेत बस्ने गर्दथेँ । त्यो बेला पनि पार्टीप्रति उहाँको मनमा गहिरो आस्था थियो र पञ्चायतमा लागेकोमा उहाँलाई ठूलो दुःख र पश्चाताप थियो । उहाँले भन्ने गर्नुहुन्थ्यो ः पार्टी कैयौँ टुक्राहरूमा बाँडिएको थियो । म न पुष्पलालतिर जान सक्दथँे, न तुल्सीलालतिर, न त्यो बेला बनेका अरू विभिन्न ग्रूपहरूमा । त्यसरी मेरा अगाडि पार्टीका सबै ढोकाहरू बन्द भएका थिए । माझीले मलाई आफ्नो पार्टीमा आउन भनेका थिए । तर त्यो कुरा पनि मैले स्वीकार गर्न सकिन । त्यो अवस्थामा मैले पञ्चायतमा लाग्नु बाहेक अरू कुनै उपाय देखिन ।पछि भेट हुँदा पनि उहाँले मसित प्रायशः त्यस प्रकारका गुनासाहरू गरिरहनुहुन्थ्यो । उहाँ पार्टीबाट अलग हुनुभएको थियो । तर उहाँको मनमा सधैँ नै त्यसका लागि गहिरो पीडा थियो ।
त्यस प्रकारको पृष्ठभूमिमा, जस्तो कि मैलेमाथि लेखेँ, उहाँले अन्तमा पार्टीको सदस्यताका लागि दर्खास्त दिने निर्णय गर्नुभयो । त्यो बेला अरू कैयौँ सङ्गठनहरू पनि थिए । तर उहाँले नेकपा (मसाल)मा नै सदस्यताका लागि दर्खास्त दिने निर्णय गर्नुभयो । त्यसबेला उहाँले भन्नु भएको थियो ः ‘जुनबेला मैले पार्टी सदस्यताका लागि तपाईको दर्खास्त लिएँ, त्यो बेलादेखि तपाइँ अविचलित रूपले आफ्नो लक्ष्यतिर बढिरहनु भएको छ । त्यसैले तपाईहरूको पार्टीप्रति नै मेरो सबैभन्दा बढी आस्था र विश्वास छ । त्यसैले मैले तपाईको पार्टीमा नै सदस्यताका लागि दर्खास्त दिन्छु ।’
अब कमलजी हाम्रा बीचमा हुनुहुन्न । तैपनि मेरो मनमा सधैँ यो कुरा लागिरह्यो ः उहाँ एउटा इमान्दार र कर्मठ कम्युनिष्ट हुनुहुन्थ्यो । पार्टीबाट उहाँको विचलन भए पनि त्यो एक प्रकारले परिस्थितिजन्य वाध्यता वा प्रतिकूल परिस्थितिका विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्ने उहाँमा भएको आवश्यक दृढताको अभावको नै परिणाम थियो र अन्तमा उहाँले पार्टीको सदस्यताका लागि दर्खास्त दिएर आफ्ना सबै गल्तिहरूलाई पखाल्नु भयो र अन्तमा एउटा कम्युनिष्टको रूपमा नै उहाँको मृत्यु भयो । त्यसैले हामीले उहाँप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली प्रकट गर्दछौँ ।
उहाँको मृत्युले हामी सबैका लागि, नेपालको कम्युनिष्ट आन्दोलनका लागि र सायद संसारभरका कम्युनिष्टहरूका अगाडि एउटा गम्भीर प्रश्न छोडेर गएको छ ः एउटा इमान्दार कम्युनिष्टको पनि कम्युनिष्ट आन्दोलनबाट किन विचलन हुने गर्दछ ? त्यसको जबाफ हामीले खोज्नै पर्दछ र त्यसको सही जबाफमाथि नै कम्युनिष्ट आन्दोलनको भविष्य निर्भर गर्नेछ । यदि भविष्यमा पनि उहाँ जस्ता इमान्दार कम्युनिष्टहरूको विचलन हुने सिलसिला कायम रहने हो भने त्यसले क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई धेरै नै क्षति पुर्‍याउने कुरा निश्चित छ । हामीले त्यस सिलसिलालाई रोक्ने प्रयत्न गर्नु पर्दछ । तर त्यो कार्य सजिलो छैन । सयकडौँ, हजारौँ कारणहरूले इमान्दार कम्युनिष्टहरूलाई पनि पतनको दिशामा लैजाने गर्दछन् । 
लेनिनले भनेका छन्, एउटा क्रान्तिकारी कम्युनिष्टको सबैभन्दा ठूलो गुण यो हो र हुनुपर्दछ ः क्रान्तिकारी आन्दोलनमा निरन्तरता । कतिपय व्यक्तिहरूले केही खास समयका लागि ठूला ठूला क्रान्तिकारी त्याग र बलिदान पनि गर्दछन् । दृढताको प्रदर्शन पनि गर्दछन् । तर उनीहरू लगातार आफ्नो बाटोमा अगाडि बढ्न सक्दैनन् । अहिले हाम्रा अगाडि भएका कैयौँ कम्युनिष्टहरू, हाम्रा सहयोद्धा र सहयात्रीहरूबारे विचार गर्दा यो प्रश्न उठ्छ ः के उनीहरू निरन्तर आफ्नो लक्ष्यमा बढिरहन सक्ने छन् ? त्यो परीक्षा मृत्युको घडीसम्म चलिरहन्छ । त्यो बेला नै यो कुराको फैसला हुन्छ ः ऊ लगातार र निरन्तर रूपले आफ्नो लक्ष्यमा बढ्न सक्ने हो वा बीच बाटामा नै उसको कतै विचलन हुने हो ? हामी सबै त्यस प्रकारको परीक्षाको प्रक्रियामा छौँ ।