स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको विजयको राजनीतिक महत्व

मोहनविक्रम सिंह
स्थानीय निर्वाचनका दुई चरणका चुनावहरू सम्पन्न भएका छन् । समग्र रूपमा विचार गर्दा राजमोका त्यस प्रकारका उपलब्धिहरू सामान्य र सीमित छन्, तैपनि राजनीतिक दृष्टिकोणले तिनीहरूको तात्कालिक रूपमा मात्र होइन, दीर्घकालीन रूपमा पनि ठुलो महत्व छ । अन्य विभिन्न राजनीतिक दल वा सङ्गठनहरूले देशव्यापी रूपमा जे जति विजय प्राप्त गरेका छन्, त्योभन्दा राजमोले प्राप्त गरेको विजयको कैयौँ गुणा बढी राजनीतिक महत्व छ ।
राजमोले जम्मा गाउँपालिकाहरूमध्ये बागलुङमा १ अध्यक्ष र २ उपाध्यक्ष, प्युठानमा २ अध्यक्ष र २ उपाध्यक्ष, गुल्मीमा १ उपाध्यक्षका उम्मेदवारहरू विजय भएका छन् । त्यसका साथै बागलुङमा ११ वडा अध्यक्ष, प्युठानमा १३ वडा अध्यक्ष, अर्घाखाँचीमा ४ वडा अध्यक्ष, नवलपरासीमा १ वडा अध्यक्षहरू विजयी भएका छन् । त्यसरी समष्टि रूपमा सबै अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र अन्य सदस्यहरू सहित बागलुङमा राजमोका ५९ जना, प्युठानमा ७७ जना, अर्घाखाँचीमा २६, गुल्मीमा ७ जना, नवलपरासीमा २ जना, सुर्खेतमा १ जना, डोल्पामा १ जना, पाल्पामा १ जना सहित राजमोका जम्मा १७४ जना उम्मेदवारहरू विजयी भएका छन् ।
देशको समग्र चुनावमाथि विचार गर्दा यो एकदम सामान्य उपलब्धी हो, तैपनि अन्य राजनीतिक दल वा सङ्गठनहरूले जसले राजमोकाभन्दा कैयौँ गुणा बढी उम्मेदवार विजयी भएका छन्, तिनीहरूलेभन्दा राजमोको विजयले कैयौँ गुणा बढी राजनीतिक महत्व राख्दछ । 
राजमोले जे जति विजय प्राप्त गरेको छ, त्यो सिद्धान्त र राजनीतिको विजय हो । अहिलेसम्म त्यसको जुन प्रकारको राजनीतिक इतिहास र स्वच्छ छवि रहेको छ, त्यसका आधारमा नै जनताले त्यसलाई आफ्नो मत दिएर विजयी बनाएका छन् । तर अन्य विभिन्न राजनीतिक सङ्गठनहरूले व्यापक रूपमा पैसा बाडेर, भोजभतेर गरेर वा झुटा आश्वासनहरू दिएर नै विजय प्राप्त गरेका छन् । जुन ठाउँमा राजमोका उम्मेदवारहरूको विजयी भयो, त्यहाँ पनि उनीहरूले त्यस प्रकारका अराजनीतिक तरिका वा फोहोरी खेलद्वारा जनतामा भ्रम पर्न वा उनीहरूको मत प्राप्त गर्न प्रयत्न नगरेका होइनन् । तर जहाँ लामो समयदेखि राजमोले सिद्धान्त र नीतिका आधारमा जनताका बीचमा आफ्नो राजनीतिक भूमिका खेल्ने, जनतालाई सचेत पार्ने वा सङ्गठन गर्ने प्रयत्न गर्दै आएको थियो, त्यहाँ अन्य विभिन्न राजनीतिक सङ्गठनहरू जनतालाई भ्रम दिन सफल भएनन् । त्यसरी राजमोले जे जति विजय प्राप्त गर्‍यो त्यो शुद्ध र राजनीतिक समर्थनमाथि नै आधारित छ ।
हामीलेमाथि राजमोका उम्मेदवारहरू विजयी भएका केही उदाहरणहरू दियौँ तर त्यसको समर्थन त्यहीँसम्म मात्र सीमित छैन । उनीहरूले विजय प्राप्त गरेका बाहेक राजमोका उम्मेदवारहरूले अन्यत्र पनि धेरै नै मत प्राप्त गरेका छन् । उदाहरणका लागि प्युठानको स्वर्गद्वारी नगरपालिका र ऐरावतीमा राजमोका अध्यक्ष र उपाध्यक्ष दुवैले दोस्रो स्थान प्राप्त गरेका छन् भने अर्घाखाँचीको भूमिकास्थान नगरपालिका र बागलुङको जैमुनि नगरपालिकामा पनि उनीहरू द्वितीय स्थानमा रहेका थिए । प्युठानको ऐरावतीमा राजमोका उपाध्यक्ष खालि १३ मतले मात्र पराजित भएका थिए । त्यो बाहेक अन्यत्र पनि राजमोका उम्मेदवारहरूले महत्वपूर्ण मत प्राप्त गरेका छन् । कतिपय स्थानहरूमा त्यसका उम्मेदवारहरू झिनो मतले पराजित भएका छन् । त्यसरी राजमोले देशका विभिन्न भागहरूमा जे जति मत प्राप्त गरेको छ, त्यो मत पैसाको वितरण वा भोजभतेरका आधारमा नभएर जनताको सच्चा समर्थनमाथि नै आधारित छ । त्यसको महत्व त्यही कुरामा मात्र सीमित छैन । जसले पैसाको वितरण वा भोजभतेरद्वारा धेरै नै मत प्राप्त गरेका छन्, राजनीतिक दृष्टिकोणले तिनीहरूको महत्व नकारात्मक नै बन्न जान्छ । उनीहरूले त्यसरी प्राप्त गरेको मतको तुलनामा राजमोले प्राप्त गरेको मतको कैयौँ गुणा बढी महत्व भएको कुरा प्रष्ट छ ।
प्रश्न अहिले राजमोले कति प्राप्त गर्‍यो र अन्य राजनीतिक सङ्गठनले कति मत प्राप्त गरे भन्ने मात्र होइन, जसले पैसाका वितरण वा भोजभतेरका आधारमा मत प्राप्त गरेर विजयी भएका छन्, ती राजनीतिक सङ्गठनहरूको राजनीतिक चरित्र वा राजनीतिक संस्कार अत्यन्त निम्न भएको कुरालाई बताउँछ । त्यसरी तात्कालिक रूपमा उनीहरूले केही सफलता प्राप्त गरे पनि दीर्घकालीन रूपमा लोकतन्त्रको जगलाई पनि धेरै नै कमजोर पार्ने कुरा निश्चित छ । यदि देशमा त्यस प्रकारको प्रक्रिया हावी हुँदै गयो भने देशको भविष्य नै अन्धकारमय हुँदै जाने छ ।
जुन राजनीतिक सङ्गठनहरूले पैसा र भोजभतेर जस्ता माध्यमद्वारा चुनाव जित्ने प्रयत्न गर्दछन्, त्यसले उनीहरूको भ्रष्ट र अराजनीतिक चरित्रलाई त बताउँछ नै, त्यसका साथै उनीहरूले सम्पूर्ण देश र जनताको चरित्रलाई पनि भ्रष्ट पार्दै लैजाने छन् । पैसा र भोजभतेरको आधारमा भोट दिने संस्कारको विकास हुँदै गयो भने जनतामा आफ्नो विवेकको प्रयोग गरेर भोट दिने प्रवृत्ति कुण्ठित हुँदै जाने छ र उनीहरूले भोट दिदा खालि यो कुरा मात्र सोच्नेछन् ः कुन राजनीतिक सङ्गठन र उम्मेदवारले उनीहरूलाई कति पैसा दिन्छन्, कति राँगाहरू काटेर खुवाउँछ वा कति रक्सी खुवाउँछ ? जनतामा त्यस प्रकारको प्रवृत्तिको विकास हुन अत्यन्त खतरनाक कुरा हो ।
चुनावमा अपनाइने भ्रष्ट तरिकाको असर खालि चुनावमा मात्र पर्दैन, खालि चुनावमा भ्रष्ट तत्वहरू मात्र विजयी बन्दैनन्, त्यसको असर चुनावपछि प्रशासनको सञ्चालन वा विकासका कार्यहरूमा पनि पर्दछ । खालि स्थानीय चुनावमा मात्र होइन, संसदीय चुनावमा पनि व्यापक रूपमा त्यस प्रकारका भ्रष्ट तरिकाहरू अपनाउने गरिन्छ । त्यसरी भ्रष्ट र गैर राजनीतिक तरिकाद्वारा जुन राजनीतिक शक्तिहरूले चुनावमा विजय प्राप्त गर्दछन्, उनीहरू बहुमत प्राप्त गरेर सत्तामा गएपछि पनि सरकारको सञ्चालन र विकास कार्यहरूमा पनि भ्रष्ट तरिकाहरू नै अपनाउँछन् । सरकारको कामकाज वा विकाससम्बन्धी कार्यहरूमा ठुलो परिणाममा भ्रष्टाचार गर्ने गर्दछ । त्यो आम रूपमा थाहा भएको कुरा हो । प्रशासन यन्त्रमा पनि व्यापक रूपमा भ्रष्टाचार हुने गर्दछ । २० वर्ष पहिले भएका स्थानीय चुनाव वा तल्लो स्तरमा हुने प्रशासनिक वा विकास कार्यहरूमा पनि व्यापक भ्रष्टाचार हुने गर्दछ । त्यसले गर्दा नै नेपालको विकास पछाडि पर्ने गरेको छ । अहिले स्थानीय चुनावमा भ्रष्टाचारको बलमा जुन राजनीतिक सङ्गठन वा उम्मेदवारहरू विजयी बन्नेछन्, उनीहरूको आफ्नो चरित्रगत भ्रष्ट तरिकाका कारणले प्रशासनिक वा विकास कार्यहरू पनि भ्रष्टाचारको कालो छायाबाट मुक्त हुन सक्ने छैनन् । उनीहरूले चुनावका बेलामा ठुलो पैमानामा जुन भ्रष्टाचार गर्दछन्, त्यसलाई उठाउनका लागि उनीहरूले पुनः भ्रष्टाचारकै बाटो समात्ने छन् । त्यसरी जहाँ त्यस प्रकारका भ्रष्ट तत्वहरू विजयी हुन्छन्, उनीहरूको तत्वाधानमा नगर वा गाउँको विकास पनि सही तरिकाले हुन सक्ने छैन । 
संयुक्त राष्ट्र सङ्घले नेपाललाई सबैभन्दा बढी भ्रष्टाचार भएका देशहरूको कालो सूचीमा राखेको छ । त्यो भ्रष्टाचार राजनीतिक दल, सरकार, प्रशासन आदि सबैतिर फैलिने गरेको छ । समाचार माध्यमहरूले त्यस प्रकारको भ्रष्टाचारका कैयौँ मुद्दाहरू दिनदिनै बाहिर ल्याउने गरेका छन् । लेखा समिति वा अख्तियारले पनि त्यस प्रकारका कैयौँ मुद्दाहरू प्रकाशमा ल्याउने गरेका छन् । त्यसरी देशमा अरबौँ, खरबौँ रूपियाँको भ्रष्टाचार भएको वा राष्ट्रिय सम्पत्तिको दुरूपयोग भएका कैयौँ तथ्यहरू बाहिर आउने गरेका छन् । तर सत्ताको केन्द्रमा नै भ्रष्टाचारले जरा हालेकाले त्यस प्रकारको भ्रष्टाचारमाथि नियन्त्रण गर्नु वा निराकरण गर्नु सजिलो हुँदैन । जसले त्यस प्रकारको भ्रष्टाचारका विरुद्ध आवाज उठाउँछन्, नियन्त्रण गर्ने प्रयत्न गर्दछन्, उनीहरू अधिकतर अवस्थामा असहाय वा असफल नै हुनुपर्दछ । त्यो स्थितिको परिणामस्वरूप नै देशको विकास पछाडि पर्ने गरेको छ । 
यो कम महत्वपूर्ण कुरा होइन कि त्यस प्रकारको राष्ट्रिय पृष्ठभूमिमा राष्ट्रिय जनमोर्चाले भ्रष्टाचारको बाटो नसमातिकन आफ्ना नीति र कार्यक्रमहरूलाई अगाडि बढाउने वा चुनाव लड्ने समेत काम गर्दै आएको छ । हामीले यो दावी गर्दैनौँ कि राजमो बाहेक अन्य सबै राजनीतिक सङ्गठन वा त्यसका नेता र कार्यकर्ताहरू सबै नै भ्रष्ट छन्, त्यही प्रकारले प्रशासन वा विकास कार्यसित सम्बन्धित सबै व्यक्तिहरू बिना अपवाद भ्रष्ट छन् भन्ने पनि हामीले दावी गर्दैनौँ । तर आम रूपमा स्थिति त्यही प्रकारको छ । त्यस प्रकारको अवस्थामा पैसाको वितरण वा भोजभतेर जस्ता तरिकाहरू नअपनाइकन चुनावमा भाग लिनु राजमोका लागि सजिलो हुँदैन । अन्य कैयौँ दलहरूले ठुलो पैमानामा पैसाको वितरण वा भोजभतेर गरेर चुनावमा विजय प्राप्त गर्नका लागि प्रयत्न गरी रहेको बेलामा खालि सिद्धान्त र राजनीतिका आधारमा चुनावमा विजयी प्राप्त गर्ने प्रयत्न गर्नु सामान्य कार्य होइन । तर त्यस प्रकारको अवस्थामा पनि त्यसले चुनावमा जे जति विजय प्राप्त गरेको छ, वा जनताको जे जति मत प्राप्त गरेको छ, त्यसको असाधारण महत्व छ । त्यही कारणले राजमोको महत्व अन्य सबै राजनीतिक शक्तिहरूकोभन्दा बढी हुन्छ ।
राजमोले आफ्नो त्यस प्रकारको चरित्रको निर्माण गर्ने वा त्यसको रक्षा गर्ने कार्य सामान्य प्रकारले गर्न सकेको छैन । त्यो कार्य एक दिनमा सम्भव भएको कुरा पनि होइन । त्यसले दशकौँदेखि त्यो दिशामा कडा परिश्रम गर्दै आउनु परेको छ । अन्य विभिन्न राजनीतिक शक्तिहरूले पैसा वा विभिन्न प्रकारका प्रलोभनहरू दिएर आफ्नो सङ्गठनको विस्तार गर्ने गर्दछन् वा चुनावमा बढी मत प्राप्त गर्ने प्राप्त गर्दछन् । तर राजमोले जनतालाई राजनीतिक प्रकारले प्रशिक्षण गरेर नै आफ्नो सङ्गठन निर्माण गर्ने, जनाधार तयार पार्ने वा सङ्गठनको निर्माण गर्ने प्रयत्न गर्दै आएको छ । त्यसका कार्यकर्ता वा नेताहरू पनि त्यही प्रकारले नै प्रशिक्षित र दीक्षित हुने गर्दछन् । त्यसैले जुन ठाउँमा राजमोको सङ्गठन छ, त्यहाँका जनता पैसामा बिक्दैनन् वा भोजभतेरको कारणले भ्रष्ट हुँदैनन् । अहिलेको स्थानीय निर्वाचनले त्यो कुरा प्रमाणित गरेको छ । 
राजमोले जुन प्रकारको कार्यशैली अपनाउँदै आएको छ, त्यसले तात्कालिक रूपमा मात्र होइन, भविष्यका दृष्टिकोणले पनि धेरै महत्व राख्दछ । देशको वास्तविक विकास त्यो बेला नै हुन सक्ने छ, जब सबै राजनीतिक शक्तिहरूको कार्यशैली राजमोको जस्तो हुने छ र चुनावमा पनि त्यसले जस्तो नै तरिका अपनाउने छन् र जनताले पनि कुनै प्रलोभनमा नपरिकन आफ्नो विवेकको प्रयोग गरेर भोट दिएर विभिन्न राजनीतिक सङ्गठन वा उम्मेदवारहरूलाई विजयी बनाउने छन् ।
देशमा भ्रष्टाचार वा राष्ट्रिय सम्पत्तिको दुरूपयोगको लामो इतिहास छ । राणाकालमा खुलेआम प्रकारले नै ठुलो पैमानामा राष्ट्रिय सम्पत्तिको दुरूपयोग हुन्थ्यो । त्यसैले राणा शासक वर्गले अकुत सम्पत्ति वा जग्गा–जमिन जम्मा गर्ने गर्दथे । पञ्चायती कालमा त्यो प्रवृत्तिले अरू विकास गर्‍यो । राजपरिवारसित जम्मा भएको ठुलो पैमानाका सम्पत्ति र उनीहरूको स्वामित्वमा भएका जग्गा–जमीनले त्यो कुरामा कुनै शङ्का रहन दिन्न । देशमा गणतन्त्र कायम भएपछि उनीहरूको जग्गा–जमिनको विवरण तयार पार्ने जुन कार्य गरियो, त्यो कार्य अहिलेसम्म पुरा हुन सकेको छैन । उनीहरूसित भएको चल सम्पत्ति वा विदेशका बैङ्कहरूमा भएको सम्पत्तिको ता कुनै हिसाब नै छैन । जग्गा–जमिन पनि उनीहरूसित ठुलो पैमानामा भएको कुरा लगातार प्रकाशमा आई रहेको छ । बहुदलीय व्यवस्था कायम भएपछि पनि उच्च तहको राजनीतिक नेतृत्व लगातार त्यस प्रकारको भ्रष्टाचारमा संलग्न रहने गरेका कैयौँ तथ्यहरू बाहिर आउने गरेका छन् । तर सरकारका विभिन्न तह, अख्तियार वा न्यायालयमा समेत उनीहरूको प्रभावका कारणले उनीहरूद्वारा गरिने भ्रष्टाचार, राष्ट्रिय सम्पत्तिबारे कसैका पनि विरुद्ध मुद्दा चल्ने वा सजाय हुने गरेको छैन । त्यसैले भ्रष्टाचार एउटा आम विषय बनेको छ । त्यस प्रकारको भ्रष्टाचारको बीचमा नै चुनाव पनि झन्‌पछि झन् भ्रष्टाचारको एउटा अड्डा नै बनेको छ । निर्वाचन आयोगले चुनावमा खर्चका लागि सीमा तोकेको छ । तर त्यो सीमाभन्दा कैयौँ गुणा बढी खर्च हुन्छ र त्यसद्वारा जनताको भोट किन्ने प्रयत्न गरिन्छ । त्यसरी चुनाव भ्रष्टाचारको अखाडा बन्दै जान्छ । राजमो जस्ता एकाध राजनीतिक दलले त्यस प्रकारको भ्रष्टाचारका बीचमा राजनीतिक प्रकारले आफ्नो सङ्गठन गर्ने वा चुनाव लड्ने प्रयत्न गर्दछन् । तर भ्रष्टाचारको जुन देशव्यापी सञ्जाल छ र धेरै राजनीतिक सङ्गठन वा उम्मेदवारहरूले व्यापक रूपमा भ्रष्टाचार गर्ने गर्दछन्, त्यसको ठाउँमा राजमोको प्रयत्न पुरै सफल हुन पाउँदैन । त्यसैले चाहे संसद र संविधान सभाको चुनाव होस् वा स्थानीय तहको, राजमोले प्राप्त गर्ने सफलता सीमित प्रकारको नै हुन्छ, तैपनि यो कम महत्वपूर्ण कुरा होइन कि त्यसले एक्लै आफ्नो सिद्धान्त र राजनीतिको झण्डा बोकेर आफ्नो सङ्गठनको निर्माण गर्ने वा चुनाव लड्ने समेत प्रयत्न गर्दै आएको छ । त्यो प्रयत्नले देशलाई एउटा दिशा दिन्छ र भविष्यमा पनि जब त्यस प्रकारको तरिका नै शक्तिशाली हुने छ देशको सही अर्थमा विकास सम्भव हुने छ । त्यसरी आज राजमोको सङ्गठन कमजोर भए पनि वा चुनावमा त्यसले सीमित सफलता प्राप्त गरे पनि त्यो भविष्यका लागि एउटा आशाको ज्योति हो ।
जस्तो किमाथि भनियो, राजमोले अत्यन्त कम गाउँपालिकाहरूमा चुनाव जितेको छ । तर त्यो कारणले त्यसको महत्व कम हुन्न । २० वर्ष पहिले भएका स्थानीय निकायहरूको चुनावका उदाहरणहरू पनि हाम्रा अगाडि छन् । त्यो बेला अन्य विभिन्न राजनीतिक सङ्गठनहरूलेभन्दा बेग्लै राजमोले जितेका स्थानीय निकायहरूमा कुनै भ्रष्टाचार नगरिकन विकास कार्यहरू सम्पन्न भएका थिए । अन्य सङ्गठनका सांसद वा सभासदहरू कैयौँ प्रकारका भ्रष्टाचार वा अनियमिततामा मुछिएको पृष्ठभूमिमा राजमोका सांसदहरूमाथि कहिल्यै त्यस प्रकारको दाग लाग्न पाएन । राजमो सरकारमा सामेल भएको बेलामा पनि त्यसको त्यस प्रकारको चरित्र निश्कलङ्क रह्यो । संसदीय विकास कोषको कैयौँ प्रकारले दुरूपयोग वा भ्रष्टाचार भएका कैयौँ रिपोर्टहरू प्रायशः सञ्चार माध्यमहरूमा आई रहन्छन् । तर राजमोको संसदीय विकास कोषको पैसामा कहिँ र कतै भ्रष्टाचार हुने गरेको छैन । त्यो अवस्थामा अहिले त्यसका उम्मेदवारहरूले जहाँ जे जति विजय प्राप्त गरेका छन्, त्यहाँ पनि कुनै भ्रष्टाचार नभइकन विकास कार्यहरू सम्पन्न हुनेछन् भन्ने कुरामाथि विश्वास गर्नका लागि पुरा आधार छ । 
२०७४ असार २० गते