अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र विश्व समाजवादी आन्दोलन

अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र विश्व समाजवादी आन्दोलन
(२०७४ वैशाख ९ गते लेनिन जयन्तीको उपलक्ष्यमा आयोजित संयुक्त अन्तरक्रिया कार्यक्रममा नेकपा(मसाल)का महामन्त्री का. मोहन विक्रम सिंहद्वारा प्रस्तुत अवधारणा–पत्र)

अहिले हामीले एक वर्षसम्म नै रूसको अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाउँदै छौँ । त्यो शतवार्षिकी कार्यक्रमको सैद्धान्तिक, ऐतिहासिक र राजनीतिक दृष्टिकोणले पनि ठूलो महत्व छ । अक्टोबर क्रान्तिपछि नै रूसमा समाजवादी व्यवस्थाको स्थापना भयो र विश्व समाजवादी व्यवस्थाको नै निर्माण भयो । माक्र्सले समाजवादी व्यवस्थाको जुन सैद्धान्तिक व्याख्या प्रस्तुत गरेका थिए, त्यसलाई लेनिन, स्तालिन र माओको नेतृत्वमा व्यवहारिक रूप दिने काम गरियो । 
माक्र्सवादी–लेनिनवादी सिद्धान्तले बारम्बार यो कुरा स्पष्ट गर्दै आएको छ कि, क्रान्ति सीधा रेखामा अगाडि बढ्दैन र त्यो कैयौँ टेढामेढा बाटाहरूको बीचमा हुँदै अगाडि बढ्दछ । त्यो कुरा खालि समाजवादी क्रान्तिबारे मात्र सत्य होइन, अन्य सबै क्रान्तिहरूबारे पनि त्यो नियम लागू हुन्छ । संसारका विभिन्न देशहरूमा दास प्रथा, सामन्तवादका विरुद्धका सङ्घर्षहरू वा राष्ट्रिय मुक्ति आन्दोलनहरू पनि त्यसरी नै अगाडि बढ्ने गरेका थिए । इङ्ग्लाण्डको निरङ्कुश राजतन्त्रका विरुद्धको आन्दोलन वा फ्रान्सको गणतन्त्रको सङ्घर्ष कैयौँ विजय र पराजय वा क्रान्ति र प्रतिक्रान्तिका बीचमा हुँदै अगाडि बढेका थिए । त्यस प्रकारको पृष्ठभूमिमा नै हामीले रूसको समाजवादी क्रान्तिलाई पनि बुझ्नु पर्दछ । 
अक्टोबर क्रान्तिले सोभियत सङ्घमा जुन समाजवादी व्यवस्थाको निर्माण गरेको थियो, अब त्यो छैन र त्यहाँ पूँजीवादको पुनस्र्थापना भइसकेको छ । तर त्यसको अर्थ अक्टोबर क्रान्तिको महत्व वा सान्दर्भिकता समाप्त भइसक्यो भन्ने होइन । त्यो इतिहासको विषय बनिसक्यो भन्ने पनि होइन । त्यसको महत्व अहिले पनि छ । त्यो महत्व ऐतिहासिक रूपमा मात्र छैन, वर्तमान समयमा पनि अक्टोबर क्रान्तिले समाजवादी आन्दोलनलाई अगाडि बढाउन विश्वभरमा महत्वपूर्ण भूमिका खेलिरहेको छ भने त्यसले विश्व समाजवादी क्रान्तिको उज्ज्वल भविष्यका लागि आधार तयार पार्ने कुरा पनि प्रष्ट छ । 
कुनै बेला दास प्रथा, विश्वको एउटा शक्तिशाली व्यवस्था थियो । तर अब त्यसको अन्त मात्र भएको छैन, त्यसको कुनै भविष्य पनि छैन । तर अब ती इतिहासका विषय बनेका छन् । सामन्ती व्यवस्थाका केही अवशेषहरू अहिले पनि संसारका विभिन्न देशहरूमा पाइन्छन् । सामन्तवाद र राजतन्त्र कुनै बेला विश्वव्यापी व्यवस्था थिए । आज पनि कतिपय देशहरूमा सामन्ती व्यवस्था, अर्धसामन्ती व्यवस्था वा निरङ्कुश राजतन्त्र कायम छन् । कतिपय देशहरूमा, उदाहरणका लागि नेपालमा, त्यसको पुनस्र्थापनाका लागि प्रयत्न भइरहेका छन् । तर ती इतिहासको धाराका विरुद्धको व्यर्थको प्रयत्न हो । विश्व स्तरमा सामन्ती व्यवस्था वा राजतन्त्रको आधार समाप्त भइसकेको छ । त्यसैले अब तिनीहरूको कुनै भविष्य छैन । विश्व समाजवादी व्यवस्थाको पतन भएको कुरा सत्य हो । तर दास प्रथा र सामन्तवादी व्यवस्थाको विपरित समाजवादी व्यवस्थाको उज्ज्वल भविष्य छ ।
कुनै बेला कुन प्रकारको सामाजिक संरचनाको निर्माण हुन्छ ? त्यो कुराको निर्धारण भौतिक परिस्थितिले नै गर्दछ । जुन प्रकारको भौतिक परिस्थितिमा दास प्रथाको निर्माण भयो, त्यस प्रकारको भौतिक आधार समाप्त भएपछि त्यसको त्यो सामाजिक संरचना पनि टिक्न सक्दैन । औद्योगिक विकासले सामन्ती व्यवस्थाको भौतिक आधारलाई कमजोर पार्दै लग्यो र त्यसको ठाउँ पूँजीवादले लिंदै गयो । दास प्रथाको भौतिक आधार समाप्त भइसक्यो र विश्वव्यापी रूपमा सामन्तवादको पनि भौतिक आधार धेरै कमजोर भएको छ । त्यसकारण भविष्यमा तिनीहरूको पुनस्र्थापनाको सम्भावना छैन । भौतिक परिस्थिति वा उत्पादक शक्तिहरूमा भएको परिवर्तनले खालि आर्थिक दृष्टिकोणले मात्र होइन, राजनीतिक, सामाजिक, सांस्कृतिक प्रकारले पनि सामन्ती व्यवस्थाको आधारलाई पनि कमजोर पार्दै लैजान्छ । त्यसैले सामन्तवादको पुनस्र्थापनाको कुनै सम्भावना छैन । तर त्यही कुरा समाजवादको विषयमा सत्य होइन । जुन प्रकारको भौतिक परिस्थितिमा समाजवादी आन्दोलनको विकास भयो, त्यो परिस्थिति अहिले पनि छ र त्यसको विश्वस्तरमा अरू विकास हुँदै गइरहेको छ । त्यस प्रकारको परिस्थितिले एकातिर पूँजीवादको अन्त हुने र अर्कातिर विश्व समाजवादी क्रान्तिको विजय हुने कुरा निश्चित छ ।
इतिहासमा पूँजीपति वर्गले २ वटा महत्वपूर्ण ऐतिहासिक भूमिका खेलेको छ ः प्रथम, सामन्तवादको आधारलाई कमजोर पार्ने । द्वितीय, समाजवादको आधारलाई मजबुत पार्ने । पूँजीवादले आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले पनि सामन्तवादको आधारलाई कसरी ध्वस्त पार्‍यो ? त्यो आम रूपमा थाहा भएको कुरा हो । द्वितीय, पूँजीवादले समाजवादको आधारलाई मजबुत पार्दछ । 
पूँजीवादको अस्तित्व नाफामाथि निर्भर गर्दछ । बढी नाफा कमाउन त्यसले आफ्नो उद्योगहरूलाई बढाउँदै लैजानुपर्छ । त्यसका लागि ठूलो पैमानामा उत्पादन गर्नुपर्दछ । त्यो क्रममा पूँजीपति वर्गले उत्पादनलाई सामाजिक रूप दिंदै जानुपर्छ । त्यसरी पूँजीवादभित्र गम्भीर प्रकारको अन्तर्विरोध पैदा हुन्छ । त्यो अन्तर्विरोध हो – उत्पादन वा उत्पादन शक्तिहरूको सामाजिक रूप र उत्पादनका साधनहरूमाथिको स्वामित्व वा त्यसबाट पैदा हुने फलको व्यक्तिगत प्रकारले उपयोग । यो कुरा ठीक त्यस्तै हुन्छ, जस्तो कि खोलामा सामूहिक रूपले माछा मारेपछि त्यसको ठूलो भागमाथि व्यक्तिगत रूपमा कब्जा जमाउनु । त्यो अन्तर्विरोधको समाधान खाली एउटै तरिकाले मात्र हुनसक्दछ । त्यो तरिका हो – उत्पादनका साधनहरूमाथि सामूहिक स्वामित्व र त्यसबाट प्राप्त हुने फलमाथि मेहनतकश जनताको सामूहिक अधिकार । त्यही समाजवाद हो ।
त्यसरी पूँजीवादी कार्यप्रणालीले नै समाजवादको लागि आधार व्यापक पार्दै लैजान्छ । भूमण्लीकरणले उत्पादक शक्तिहरूको सामाजिकरणलाई अरू विश्वव्यापी रूप दिंदै लगिरहेको छ र त्यसको परिणामस्वरूप समाजवादको पनि विश्वव्यापी रूपमा भौतिक आधार तयार हुँदै गइरहेको छ । त्यसरी दास प्रथा, सामन्ती व्यवस्था र विश्व समाजवादी व्यवस्थाको पतनको प्रकृति एकै प्रकारको नभएको कुरा प्रष्ट छ । दासप्रथा वा सामन्ती व्यवस्थाको भौतिक आधार नै समाप्त भएको हुनाले अब तिनीहरूको कुनै भविष्य छैन । तर समाजवादको भौतिक आधार समाप्त नभएको मात्र होइन, त्यो अरू विकसित हुँदै गइरहेको छ । त्यसकारण त्यसको भविष्य उज्ज्वल भएको वा त्यसको विश्वव्यापी विजय अवश्यम्भावी भएको कुरा प्रष्ट छ ।
यहाँ यो कुरा उल्लेखनीय छ कि विश्वव्यापी समाजवादी व्यवस्थाको पतन वा संसारका विभिन्न देशहरूका कम्युनिष्ट पार्टीहरूको पतनमा आन्तरिक कारणले पनि प्रमुख भूमिका खेल्ने गरेको छ । पूँजीवादका विरुद्ध बाहिर मात्र सङ्घर्ष गरेर पुग्दैन । छद्म रूपमा पूँजीवाद कम्युनिष्ट पार्टीभित्र पनि विद्यमान हुन्छ । त्यसको अर्थ दुश्मनका एजेन्ट वा सी.आई.डी.हरूले मात्र पार्टीमाथि आक्रमण गर्दछन् भन्ने होइन । कतिपय अवस्थामा त्यस्तो पनि हुन्छ । तर खतरा त्यो बेला कैयौँ गुणा बढी गम्भीर हुन्छ, जब इमान्दार र क्रान्तिकारी कम्युनिष्टहरूले पनि एक वा अर्को प्रकारले पूँजीवादको सेवा गर्न वा कम्युनिष्ट पार्टीको आधारलाई कमजोर पार्ने काम गर्न चाहन्छन् । त्यस प्रकारको कार्य उनीहरूले जानीजानी वा सचेतपूर्वक नै त्यसो गर्दछन् भन्ने होइन । उनीहरूको भित्रको पूँजीवादी वा निम्नपूँजीवादी प्रवृत्तिले उनीहरूलाई गैरकम्युनिष्ट वा गैर क्रान्तिकारी बाटोमा हिड्न बाध्य पार्दछ । प्रकट रूपमा उनीहरू इमान्दार र क्रान्तिकारी कम्युनिष्ट हुन्छन्, वास्तवमा उनीहरू त्यस्तो हुन्छन् पनि । तर उनीहरूभित्रको गैरक्रान्तिकारी वा गैरकम्युनिष्ट चरित्रले उनीहरूलाई क्रान्तिकारी दिशामा अगाडि बढ्न दिन्न । त्यो कारणले पनि पार्टीभित्र विभिन्न प्रकारका संशोधनवादी वा अवसरवादी प्रवृत्तिहरू पैदा हुन्छन् ।
अर्को एउटा रूपमा पनि पूँजीवादले कम्युनिष्टहरूलाई भ्रष्ट पार्दै लैजान्छ । पूँजीवादको आधारशीला व्यक्तिगत स्वार्थ नै हो । त्यसको विपरीत कम्युनिष्ट दर्शनले समाजका सम्पूर्ण शोषित, उत्पीडित जनताको मुक्तिका लागि बढीभन्दा बढी त्याग र बलिदान गर्ने कुरामा जोड दिन्छ । तर निम्नपूँजीवादी प्रवृत्ति वा पूँजीवादको असरले कम्युनिष्टहरूलाई पनि झन्‌पछि झन् व्यक्तिगत स्वार्थ उन्मुख बनाउँदै लैजान्छ । रूस र चीनको प्रतिक्रान्तिमा त्यस प्रकारको तत्वको प्रमुख भूमिका रह्यो । व्यक्तिगत स्वार्थले चीनमा समाजवादका अगाडि पैदा गरेको पतनलाई रोक्न नै चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति चलेको थियो । तर त्यो सांस्कृतिक क्रान्ति असफल भयो र त्यसको परिणाम स्वरूप त्यहाँ समाजवादी व्यवस्थाको पतन भयो । 
पार्टीभित्र देखापर्ने त्यस प्रकारका गैरकम्युनिष्ट वा गैरक्रान्तिकारी प्रवृत्तिहरूबाट सम्भावित गम्भीर प्रकारको खतराप्रति ध्यान दिएर नै माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराका संस्थापकहरूले पार्टीभित्र देखापर्ने पूँजीवादी वा निम्नपूँजीवादी प्रवृत्तिहरूका विरुद्ध दृढतापूर्वक सैद्धान्तिक सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएका थिए । तर कतिपय अवस्थामा पार्टीभित्र एकताबारे यान्त्रिक सोचाइ अपनाएर गलत प्रवृत्तिहरूसित पनि कृतिम प्रकारले सम्झौता गर्ने गरिन्छ । त्यसो गर्दा उपरी प्रकारले स्थिति सामान्य र शान्त देखिन्छ । तर भित्रदेखि नै आगो सल्किदै गइरेको हुन्छ । त्यो अवस्थामा या त पार्टीमा गम्भीर प्रकारका फुटहरूको स्थिति पैदा हुन्छ या त पार्टीले पूरै नै विभिन्न प्रकारका अवसरवाद, भड्काव वा पलायनको बाटो समात्छ । 
कम्युनिष्ट पार्टी सही अर्थमा सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी त्यो अवस्थामा नै हुन्छ जब त्यसले आधारभूत माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूलाई पथप्रदर्शक सिद्धान्तहरूका रूपमा अपनाउने काम गर्दछ, निश्चय नै विश्वको परिस्थिति वा कुनै देशको स्थितिमा हुने परिवर्तनको ठोस विश्लेषण गरेर पार्टीका नीति र कार्यक्रमहरूमा सिर्जनात्मक विकास पनि गर्नुपर्ने आवश्यकता हुन्छ । तर सिर्जनात्मक विकासको नाममा आधारभूत माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई नै परित्याग गर्ने प्रवृत्ति पनि विश्व कम्युनिष्ट आन्दोलनमा व्यापक रूपले पाइन्छ । त्यस प्रकारका आधारभूत सिद्धान्तहरूमा सर्वहारावर्गको अधिनायकत्व, वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्षको अनिवार्यता आदि जस्ता सिद्धान्तहरू मुख्य रूपमा आउँछन् । सृजनात्मक विकासको नाममा विश्व स्तरमा र नेपालमा पनि आधारभूत माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूलाई मनोमानी प्रकारले परित्याग गर्ने प्रयत्नहरू बारम्बार हुने गरेका छन् । त्यस प्रकारको कार्यविधिले कम्युनिष्ट पार्टीलाई पतनको दिशामा लैजान्छ । 
एकातिर हामीले कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी सिद्धान्तहरूको रक्षाका लागि संधै प्रयत्न गर्नुपर्दछ भने अर्कातिर कुनै खास अवस्थाको ठोस परिस्थितिको विश्लेषण गरेर तात्कालिक कार्यनीति निर्धारित गर्ने प्रश्नमा पनि अत्यन्त कुशल हुनुपर्दछ । त्यस अनुसार कतिपय अवस्थामा सैद्धान्तिक र रणनीतिक रूपले अपनाउने नीति वा कार्यक्रमभन्दा बेग्लै नीतिहरू पनि अपनाइरहेका हुन्छौँ वा अपनाउनुपर्दछ । उदाहरणका लागि सैद्धान्तिक र रणनीतिक रूपले हामीले संसदीय वा बहुदलीय प्रणालीलाई अस्वीकार गरिरहेका हुन्छौँ । तर कुनै बेलाको खास स्थिति र आवश्यकतानुसार कार्यनीतिक रूपमा तिनीहरूलाई अपनाउनुपर्ने आवश्यकता पनि हुन्छ । रणनीतिक रूपमा सशस्त्र सङ्घर्ष अनिवार्य भए पनि कार्यनीतिक रूपमा शान्तिपूर्ण आन्दोलनलाई पनि स्वीकार गर्नुपर्ने आवश्यकता हुन्छ । दुश्मन शक्तिहरूसित सङ्घर्ष नै प्रधान पक्ष हुन्छ । तर कतिपय अवस्थामा दुश्मन शक्तिहरूसित पनि कार्यगत एकता गर्नुपर्ने आवश्यकता हुन्छ । रणनीतिक रूपमा हामीले समाजवाद वा नयाँ जनवादी क्रान्तिमा जोड दिए पनि कतिपय अवस्थामा तीभन्दा तल्लो स्तरका पूँजीवादी प्रकारका कार्यक्रम वा सुधार कार्यक्रमहरूलाई पनि अपाउने गर्दछौँ । 
कुनै खास बेलाको प्रस्तुतिको विश्लेषण गरेर तात्कालिक कार्यनीति अपनाउने बेलामा समाजवाद, सर्वहारावर्गको अधिनायकत्व, सशस्त्र सङ्घर्षको अनिवार्यता जस्ता आधारभूत सिद्धान्तहरूलाई छाड्ने र तिनीहरूको विषयमा प्रचारात्मक आन्दोलनलाई पनि परित्याग गर्ने गल्ति गर्नु हुन्न । यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि संसारमा कतिपय कम्युनिष्ट पार्टीहरूले माक्र्सवादमा सृजनात्मक विकासको नाममा खालि सर्वहारावर्गको अधिनायकत्व, सशस्त्र सङ्घर्षको अनिवार्यता जस्ता आधारभूत सिद्धान्तहरूलाई परित्याग गर्ने मात्र होइन, स्वयं माक्र्सवाद परित्याग गर्ने गरेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनमा सृजनात्मक विकासको नाममा जनवादी क्रान्ति, माओत्सेतुङ विचारधारालाई परित्याग, सर्वहारा सांस्कृतिक क्रान्तिको विरोध गर्ने पनि गरिएको छ ।

विश्व कम्युनिष्ट आन्दोलनमा द्वन्दात्मक भौतिकवादी चिन्तनको विकास, समाजवादको निर्माण, पार्टीमा देखा पर्ने विभिन्न प्रकारका दक्षिणपन्थी वा उग्र“वामपन्थी” भड्कावहरूका विरुद्धको सङ्घर्ष वा फासिष्ट विरुद्धको युद्धमा स्तालिनको अत्यन्त ठूलो र ऐतिहासिक भूमिका रहेको थियो । तर ख्रुश्चेभले स्तालिनको भत्र्सना गरेपछि विश्व कम्युनिष्ट आन्दोलनमा उनको विरोध गर्ने प्रवृत्ति निकै फैलिएर गयो र कतिपय माक्र्सवादी–लेनिनवादीहरूले पनि स्तालिनको विरोध गर्ने गर्दछन् । माक्र्सवाद–लेनिनवादको सृजनात्मक विकासमा माओको ऐतिहासिक भूमिका रहेको छ । खास गरेर ख्रुश्चेभको नेतृत्वमा देखापरेको संशोधनवादको विरुद्धको सङ्घर्षमा उनको अन्तर्राष्ट्रिय स्तरमा नै ठूलो योगदान रह्यो । तर त्यसका साथै चीनमा देखापरेको पूँजीवादको पुर्नस्थापनाको खतरा विरुद्ध उनको नेतृत्वमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिले पनि खालि चीनको लागि मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा ठूलो सैद्धान्तिक महत्व राख्दछ । तर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा माओ र सांस्कृतिक क्रान्तिको विरोध गर्ने प्रवृत्तिहरू पनि व्यापक रूपमा देखापरेका छन् ।
आज अन्तर्राष्ट्रिय स्तरमा समाजवादी क्रान्ति वा कम्युनिष्ट आन्दोलनको बलियो आधार छ । विश्व पूँजीवादमा बढ्दै गइरहेको सङ्कटले समाजवादी क्रान्तिका लागि वस्तुगत परिस्थितिलाई परिपक्व बनाउँदै लगिरहेको छ । तर आत्मगत पक्ष कमजोर छ । त्यस प्रकारको अवस्थामा अहिलेको स्थितिमा परिवर्तन गर्नुपर्ने वा आत्मगत स्थितिलाई बलियो बनाउनुपर्ने आवश्यकता छ । तर त्यो कार्य त्यो बेलासम्म सम्भव हुने छैन, जबसम्म जुन गलत प्रवृत्तिहरूले विश्व समाजवादी व्यवस्था वा विश्व कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएर तिनीहरूलाई निराकरण गरिने छैन । त्यसको अर्थ यो पनि हुन्छ, सबै प्रकारका गैरसर्वहारा वा गैरकम्युनिष्ट प्रवृत्तिहरूका विरुद्ध सैद्धान्तिक सङ्घर्ष । त्यसको अर्थ यो पनि हुन्छ, माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराका आधारभूत सिद्धान्तहरू, स्तालिन र माओ, चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्ति समेतको पक्षमा सम्झौताहीन प्रकारको सैद्धान्तिक सङ्घर्ष । 
कम्युनिष्ट आन्दोलनमा संशोधनवाद खाली सैद्धान्तिक र राजनीतिक रूपमा मात्र देखापर्दैन, त्यो सङ्गठनात्मक रूपमा पनि देखा पर्दछ । माक्र्सवादी–लेनिनवादी सङ्गठन प्रणालीको विकासको लामो इतिहास छ । माक्र्स–एङ्गेल्सको पालादेखि सङ्गठनको क्षेत्रमा भएका लामो अनुभव, गलत सोचाइहरूका विरुद्ध भएको लामो सङ्घर्ष वा गल्तिहरूको सैद्धान्तिक विश्लेषण र संस्लेषणपछि नै माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणालीको विकास भएको हो । जब कुनै पार्टीले सैद्धान्तिक र राजनीतिक रूपले एक वा अर्को प्रकारले संशोधनवाद र भड्कावको बाटो समात्छ, त्यसको असर सङ्गठनात्मक प्रणालीमा पनि पर्दछ र सङ्गठनात्मक प्रणालीले माक्र्सवादी–लेनिनवादी प्रणालीका ठाउँमा अराजकतावादी वा पूँजीवादी रूप लिंदै जान्छ । त्यो अवस्थामा कम्युनिष्ट पार्टीको पतन हुनु अनिवार्य छ ।
कम्युनिष्ट पार्टीलाई सङ्गठनात्मक रूपले माक्र्सवादी–लेनिनवादी रूपमा कायम राख्नु अत्यन्त कठिन कार्य हो । एकातिर, विश्वपूँजीवादी संस्कृति र जीवनशैलीको असर, अर्कातिर, स्वयं कम्युनिष्ट आन्दोलनमा बढ्दै गइरहेका विभिन्न प्रकारका गैर–माक्र्सवादी–लेनिनवादी प्रवृत्तिहरूका कारणले कम्युनिष्ट पार्टीको सङ्गठनात्मक प्रणालीलाई सही अर्थमा कम्युनिष्ट पार्टीको रूपमा बचाएर राख्नु अत्यन्त कठिन कार्य भएको छ । त्यसका साथै यो पनि सत्य हो कि कम्युनिष्ट पार्टीलाई सही अर्थमा कम्युनिष्ट पार्टीको रूपमा सङ्गठित नगर्दासम्म त्यसले क्रान्तिकारी जिम्मेवारी पनि पूरा गर्न सक्दैन ।
अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमलाई हामीले खालि कुनै चाडको रूपमा अपनाउँदैनौँ । त्यसको महत्व कम्युनिष्ट आन्दोलनलाई सही र सैद्धान्तिक धरातलमा स्थापित गर्ने कुरासित सम्बन्धित छ । अर्का शब्दमा त्यसलाई हामीले विश्वस्तरमा र नेपालमा पनि समाजवादी वा क्रान्तिकारी आन्दोलनलाई उच्च रूपमा अगाडि बढाउन पनि उपयोग गर्नु पर्दछ । त्यो अर्थमा नै हामीले अक्टोबर समाजवादी शतवार्षिकी कार्यक्रमलाई मनाउँदै छौँ र मनाउनु पर्दछ ।
आज हामीले यो अन्तरक्रिया कार्यक्रमलाई संयुक्त रूपले आयोजना गरेका छौँ । अन्तरक्रिया कार्यक्रमको सिलसिलामा वामपन्थीहरूको बीचमा कायम भएको त्यो एकतालाई हामीले अरू उच्च स्तरमा अगाडि बढाउन प्रयत्न गर्नुपर्ने आवश्यकता छ । त्यसरी नै हामीहरू अक्टोवर क्रान्तिले देखाएको दिशामा सशक्त रूपले अगाडि बढ्न सक्दछौँ र बढ्नु पनि पर्दछ । त्यो हाम्रो नेपालको कम्युनिष्ट आन्दोलन मात्र होइन, अन्तर्राष्टिय कम्युनिष्ट आन्दोलन प्रतिको पनि जिम्मेवारी हो । धन्यवाद ¤