ट्रम्पको आप्रवासी नीतिले नेपाललाई दिएको चेतावनी

ट्रम्पको आप्रवासी नीतिले नेपाललाई दिएको चेतावनी
–मोहन विक्रम सिंह
अमेरिकाका नयाँ निर्वाचित राष्ट्रपति ट्रम्पले जुन प्रकारको आप्रवासी नीति अपनाउने घोषणा गरेका छन्, त्यो नेपालका लागि पनि ठुलो चेतावनी हो । त्यसबाट शिक्षा लिएर नेपालले आफ्नो नीति र कार्यक्रममा सुधारका लागि गम्भीर र योजनाबद्ध प्रकारले प्रयत्न गर्नु पर्ने आवश्यकता छ अन्यथा नेपालको अर्थतन्त्र मात्र होइन, भविष्य समेत अन्धकारमय हुने कुरा स्पष्ट छ ।
नेपालले आफ्नो देशको आर्थिक विकासमा जोड दिएर आत्मनिर्भर हुने प्रयत्न गर्नुभन्दा ठुलो सङ्ख्यामा नेपालीहरूलाई विदेशमा पठाएर उनीहरूबाट आउने आम्दानीबाट देशको अर्थतन्त्रलाई धान्ने प्रयत्न गरिरहेको छ । प्रथमता नेपालीहरूले विदेशबाट जुन पैसा पठाउँछन्, त्यो देशको आर्थिक विकासमा कमै खर्च हुन्छ । त्यो पैसा अधिकतर रूपमा घरजग्गा किन्न वा उपभोग्य सामग्रीहरू किन्न नै खर्च हुन्छ । ती सामग्रीहरू अधिकतर विदेशबाट नै आयात गरिएका हुन्छन् । विदेशबाट आउने त्यस प्रकारको आम्दानीले जनसङ्ख्याको एउटा ठुलो भागलाई श्रमबाट अलग गरी दिन्छ । उनीहरू गाउँबाट आएर सहरमा बस्दछन् र विलासी जीवन बिताउँछन् । परिणामस्वरूप पहाडका कृषियोग्य जमीन बाँझा हुँदै गई रहेका छन् । सामाजिक र राजनीतिक रूपमा पनि त्यसबाट कैयौँ विकृतिहरू पैदा भई रहेका छन् र राजनीतिक रूपमा पनि त्यसका कैयौँ दूरगामी दुष्परिणामहरू हुने सम्भावना बढ्दै गई रहेको छ ।
पतिहरू लामो समयसम्म विदेशमा बस्दा उनीहरूको पारिवारिक समस्यामा कैयौँ विकृतिहरू ल्याएको कुरा कैयौँ अध्ययनले बताएका छन् । ठुलो सङ्ख्यामा नेपालीहरू बाहिर जाँदा देशको निर्माणमा लाग्ने ठुलो श्रमशक्ति बाहिर मात्र जान्न, देशको राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने नागरिकहरू पनि बाहिर जान्छन् । युवक वर्गले देशको राजनीतिमा जुन सचेत भूमिका खेल्न सक्दथ्यो र पर्दथ्यो, त्यो भूमिका खेल्न सक्दैनन् । देशमा वास्तविक नेपाली नागरिकहरूको सङ्ख्या लगातार र तीव्र गतिले कम हुँदै गई रहेकोले र उदार नागरिकतासम्बन्धी नीतिका कारणले ठुलो सङ्ख्यामा विदेशीहरू मुख्यतः भारतीय नेपालको नागरिक बन्दै गई रहेका छन् । त्यसले चुनावमा वास्तविक नेपालीहरूको मतदान वा भूमिका कम हुने र विदेशीहरूको अनुपात बढ्दै जाने खतरा बढ्दै छ । त्यसको परिणामस्वरूप नेपालमा स्वयं नेपालीहरू अल्पसङ्ख्यामा पर्ने सम्भावना बढ्दै गई रहेको छ । त्यसको परिणाम कति गम्भीर हुने छ ? कसैले पनि अन्दाज गर्न सक्दछ ।
माथिको विवरणबाट के प्रष्ट हुन्छ भने नेपालीहरूलाई ठुलो सङ्ख्यामा विदेश पठाएर आर्थिक उपार्जन गर्ने वा देशको अर्थतन्त्रलाई कायम गर्ने जुन प्रयत्न गरिँदै छ, त्यो समस्याको स्थायी समाधान होइन । त्यसको विपरीत हाम्रो मुख्य जोड देशको आर्थिक विकास र देशको श्रमशक्तिलाई त्यसैमा प्रयोग गर्नेतिर जानु पर्दछ अन्यथा देशमा गम्भीर प्रकारको आर्थिक, सामाजिक वा राजनीतिक सङ्कट पैदा हुने खतरा छ । अर्को शब्दमा देश तीव्र गतिले त्यस प्रकारको सङ्कटको मुखमा अग्रसर भई रहेको छ । त्यस प्रकारको पृष्ठभूमिमा नै हामीले ट्रम्पको आप्रवासी नीतिलाई बुझ्नु पर्दछ र त्यसबाट शिक्षा लिनु पर्दछ ।
ट्रम्पको आप्रवास नीति उनको व्यक्तिगत लाइन मात्र होइन, अमेरिकामा राष्ट्रपतिको चुनावमा हिलारी क्लिन्टनको हार र ट्रम्पको जितमा आप्रवास नीति पनि एउटा मुख्य कारण रह्यो । क्लिन्टनको आप्रवास नीति अपेक्षाकृत उदार थियो भने ट्रम्पको कडा र अनुदार । ट्रम्पको नीतिलाई बहुमत मिल्नुका पछाडि पँुजीवादभित्र विश्वव्यापी रूपमा र अमेरिकामा पनि बढ्दै गएको एउटा सङ्कटले पनि काम गरेको छ । पँुजीवादको विकास वा त्यसको स्थिरता नाफामाथि नै निर्भर गर्दछ । उनीहरूलाई ठुलो पैमानामा नाफा चाहिन्छ । त्यसका लागि ठुलो बजार चाहिन्छ । तर त्यसको समस्या यो हो कि त्यसको बजार झन्‌पछि झन् सङ्कुचित हुँदै गई रहेको छ । पहिले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै देशहरू पिछडिएका थिए । त्यस कारण अमेरिका वा युरोपका देशहरूलाई नाफा कमाउनका लागि ठुलो बजार थियो । तर अब एसिया, अफ्रिका वा ल्याटिन अमेरिकाका धेरै देशहरूमा पँुजीवादको विकास भई रहेको छ । त्यसको परिणाम अमेरिका वा युरोपका देशहरूको बजार सीमित हुँदै गई रहेको छ । अर्कातिर, एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका नयाँ पँुजीवादी देशहरूसित उनीहरूको अन्तर्विरोध बढ्दै गई रहेको छ । त्यसको अर्थ यो हुन्छ, पहिले उनीहरूले जति सामान बिक्री गर्न सक्दथे, अब सक्दैनन् । त्यो अवस्थामा उनीहरूले आफ्नो उत्पादनमा कमी ल्याउनु पर्दछ । उत्पादनमा कमी ल्याउनुको अर्थ हुन्छ, अब उनीहरूलाई कम मजदुरहरू आवश्यक हुन्छ ।
उपर्युक्त प्रकारको अवस्थामा नै अमेरिका वा युरोपका देशहरूमा विदेशबाट आउने मजदुरहरूप्रति विरोध बढ्दै गई रहेको छ र आप्रवासी नीति कडा बनाउने माग बढ्दै गई रहेको छ । युरोपका देशहरूमा ठुलो सङ्ख्यामा आप्रवासीहरू बस्दछन् । उनीहरूप्रति कडा नीति अपनाउने माग बढ्दै गई रहेको छ । आफ्नै देशका मजदुरहरू ठुलो सङ्ख्यामा बेरोजगार हुँदै गएपछि ती देशहरूमा विदेशबाट आउने मजदुरहरूका विरुद्ध जनमत बढ्दै गई रहेको छ । जर्मनीको चान्सलरले आप्रवासप्रति केही उदार नीति अपनाइन् । त्यहाँका अनुदारवादीहरूले त्यो नीतिको विरोध गरे । त्यो उदार आप्रवासी नीतिको असर चुनावमा पर्‍यो । जर्मनीको एउटा राज्यमा भएको चुनावमा सत्तारूढ पार्टीको ठुलो हार भयो । त्यसबाट त्यहाँकी चान्सलरले पुनः आप्रवासी नीतिलाई कडा बनाउने कुरामा जोड दिइन् ।
अमेरिकामा ठुलो सङ्ख्यामा आप्रवासी छन् । यो भनिन्छ, त्यहाँ अबैध रूपले बसेका अप्रवासी मात्र एक करोड जति छन् । ट्रम्पले ४५ औँ राष्ट्रपति निर्वाचित भएपछि तुरुन्त नै ३० लाख आप्रवासीलाई हटाउने घोषणा गरेका छन् ।पछि अरूलाई पनि हटाउँदै जाने र नयाँ भिसा नीति पनि कडा बनाउने उनको नीति हुने कुरा प्रष्ट छ । उनको त्यो नीति अमेरिकी साम्राज्यवादको विश्व बजार सङ्कुचित हुँदै गएकाले र उत्पादन कम गर्दै लैजानु परेकाले पनि अमेरिकामा उत्पादन र मजदुरहरूमा पनि कटौती गर्दै जानु परेको परिणाम हो । विदेशबाट आउने मजदुर वा विज्ञहरूले पनि अपेक्षाकृत सस्तो ज्यालामा काम गर्दछन् । त्यसले गर्दा अमेरिकामा आप्रवासीप्रति कडा नीति अपनाउनु पर्ने जनमत बढ्दै गएको छ । त्यो मागलाई ट्रम्पले मूल रूप दिए । त्यसैले चुनावमा उनलाई बहुमत प्राप्त भयो ।
वास्तवमा आज नयाँ नयाँ देशहरूमा नयाँ पँुजीवादी देशहरूको विकासको परिणामस्वरूप अमेरिकाले विश्वमा कडा प्रतिस्पर्धाको सामना गर्नु परी रहेको छ । त्यसले गर्दा ट्रम्पले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो भूमिका बढाउनेभन्दा देशभित्र आफ्नो स्थिति सुदृढ गर्ने नीतिमा जोड दिएका छन् । साम्राज्यवादीहरूले भूमण्डलीकरण, खुला प्रतिस्पर्धा र खुला बजारको कुरा गर्दछन् । तर ठुला विकसित देशहरूमा पनि बढ्दै गएको सङ्कटका कारणले उनीहरूले संरक्षण नीतिमा जोड दिनु परी रहेको छ । त्यसरी उनीहरूले आफ्नो रक्षाको नीतिमा बढी जोड दिनु परी रहेको छ । त्यही प्रकारको स्थितिमा नै ब्रिटेन युरोपयन युनियनबाट हट्ने नीतिको पक्षमा बहुमत प्राप्त भयो । संसारमा जति जति नयाँ नयाँ देशहरूमा पूँजीवादको विकास हुँदै जाने छ, उनीहरूको बजार साँघुरिँदै जाने छ । उनीहरूका अगाडि उत्पादन घटाउने र श्रम शक्तिमा कटौती गर्नु पर्ने बाध्यता बढ्दै जाने छ । त्यो अवस्थामा सबै पँुजीवादी देशहरूमा आप्रवासीहरूप्रति ढोकाबन्दको नीति बढ्दै जाने छ ।
ट्रम्पको अनुदार र कडा नीतिको शिकार ठुलो सङ्ख्यामा नेपालीहरू पनि हुनेछन् । त्यो समस्याको गम्भीरता त्यहीँसम्म मात्र सीमित रहने छैन । त्यो समस्या विश्वव्यापी रूपमा अगाडि आउने छ । एकातिर, सबै विकसित पँुजीवादी देशहरू र अर्कातिर, नयाँ पँुजीवादी देशहरूबाट नेपालीहरूलाई निकाल्ने प्रक्रिया बढ्दै जाने छ । अमेरिका र युरोपमा ता त्यो आवाज बढ्दै गई रहेको र त्यहाँका सरकारहरूले झन्‌पछि झन् अनुदार आप्रवास नीति अपनाउँदै लगी रहेका छन् । आउने दिनमा त्यो प्रक्रिया अरू बढेर जाने छ ।
अहिले नेपालीहरूको गन्तव्य कतिपय पँुजीवादी देशहरू पनि रहेका छन् । जस्तै कि खाडीका मुलुकहरू मलेसिया, सिङ्गापुर, कोरिया आदि । ती देशहरू पनि हाम्रा लागि सधैँ सुरक्षित देशहरू रहने छैनन् । प्रथमता, त्यहाँ अन्य देशहरूका आप्रवासीहरूसित नेपालीले कडा प्रतिस्पर्धा गर्नु पर्ने छ । द्वितीय, कुनै दिन त्यहाँ पनि विकसित पँुजीवादी देशहरूमा जस्तै स्थिति उत्पन्न हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यो अवस्थामा ती देशहरूमा रोजगारीको समस्या गम्भीर हुँदै गएर त्यहाँ पनि विदेशबाट आउने मजदुरहरूप्रति विरोधको आवाज बढ्न थाल्ने र त्यसरी त्यहाँ पनि नेपालीहरूका लागि रोजगारी कम वा सीमित हुँदै जाने छ ।
गत दशकहरूमा नेपालीहरू कैयौँ देशहरूबाट निकालिएका थिए । तत्कालीन बर्मा वा म्यान्मारबाट ठुलो सङ्ख्यामा नेपालीहरू निकालिएका थिए । आसामबाट आफ्नो घरजग्गा वा व्यापार छाडेर ठुलो सङ्ख्यामा नेपालीहरू नेपाल आउनु परेको थियो । हाम्रो रोजगारीको परम्परागत गन्तव्य भारत रहँदै आएको छ । तर त्यहाँ पनि पहिले नेपालीहरूले जसरी रोजगारी पाउँदथे, अब पाउँदैनन् । ठुला र राम्रा ठाउँमा नोकरी प्राप्त गर्ने कुरा त अब बन्द जस्तै भएको छ । भारतमा जनसङ्ख्या र बेरोजगारी बढ्दै जानुका साथै उनीहरूलाई पहिले जस्तो सजिलैसित नोकरी मिल्न गाह्रो हुन थालेको छ ।
सारा संसारबाट लखेटिँदै वा विस्थापित भएपछि नेपालीहरूका लागि बाँच्न वा रहनका लागि बाँकी रहने आश्रय स्थल नेपाल मात्र हो । खालि विदेशमा नेपालीहरूलाई पठाएर मात्र अर्थतन्त्रलाई कायम गर्ने नीति अपनाइयो र स्वयं नेपालको आर्थिक विकासमा ध्यान दिइएन भने त्यसको परिणाम कति भयानक होला ? कसैले पनि सजिलैसित अन्दाज गर्न सकिन्छ । नेपालीहरू संसारभरिबाट लखेटिँदै र निकालिँदै जाने र, अर्कातिर, नेपालको विकास नहुने भयो भने त्यसले नेपालका लागि अत्यन्त भयानक स्थितिको सिर्जना गर्ने छ ।
मिति ः २०७३ कार्तिक ३० गते