तराईको समस्या ः मधेशवादीहरूलाई मात्र दोष दिनु सही हुने छैन

तराईको समस्या ः मधेशवादीहरूलाई मात्र दोष दिनु सही हुने छैन
–मोहनविक्रम सिंह
अहिले तराईमा गम्भीर स्थिति उत्पन्न भएको छ । तात्कालिक, उपरी र वाह्य रूपमा त्यसका लागि मधेशवादीहरू नै जिम्मेवार छन् । उनीहरूले निश्चित रूपले भारतीय विस्तारवादी योजना अनुसार प्रथम चरणमा तराईलाई नेपालबाट अलग गराउन तथा दीर्घकालिन रूपमा नेपाललाई दोस्रो सिक्किम बनाउन योजनावद्ध प्रकारले काम गरिरहेका छन् । अहिले उनीहरूले संविधानमा संशोधनको जुन कुरा उठाइरहेका छन्, त्यसको उद्देश्य पनि भारतीय विस्तारवादी रणनीतिको लागि मार्ग प्रसस्त गर्नु नै हो । भारतीय विस्तारवादले आफ्नो विस्तारवादी उद्देश्य पूरा गर्न बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै नीतिहरू अपनाउने गरेको छ । अहिले त्यसको मुख्य जोड संविधानको संशोधनमा छ किनभने त्यसले जसरी संविधानमा संशोधनको कुरा उठाइरहेको छ, एकै साथ त्यसका सबै विस्तारवादी उद्देश्यहरू पूरा गर्न मद्दत पुर्‍याउने छ । ‘सर्प पनि मर्ने, लौरो पनि नभाँचिने ।’ नेपालको संसद वा नेपालका राजनीतिक पार्टीहरूले नै त्यो काम गर्नेछन् । त्यसकारण प्रत्यक्ष वा अन्तर्राष्ट्रिय रूपमा भारतमाथि दोष पनि लाग्ने छैन । नेपालसम्बन्धी विस्तारवादी योजना पनि पूरा हुनेछ ।
भारतीय विस्तारवाद र मधेशवादीहरूको त्यस प्रकारको भूमिकाबारे मैले पहिलेका आफ्ना लेखहरूमा धेरै प्रकाश हालिसकेको छु । त्यसकारण यो लेखमा म त्यसको बढी चर्चा गर्नेपट्टि लाग्दिन । तर यो लेखमा मैले मुख्य रूपले तराईमा आज जुन गम्भीर स्थिति उत्पन्न भएको छ, त्यससित सम्बन्धित अन्य पक्षहरूबारे बढी चर्चा गर्ने छु । तराईमा जुन स्थिति एक प्रकारले अत्यन्त गम्भीर र सङ्कटको स्थिति वा राष्ट्रिय विखण्डनको स्थिति उत्पन्न भएको छ, त्यसका लागि मधेशवादीहरूलाई मात्र दोष दिनु सही हुने छैन । त्यहाँ त्यस प्रकारको स्थितिका लागि नेपालको सामन्ती व्यवस्था वा खस कट्टरवादले पनि प्रसस्त काम गरेको छ ।
नेपालका खसहरूको मुख्य वासस्थान पहाडमा नै रहेको छ । उनीहरूले शताब्दियौदेखि तराईका जनतामाथि शोषण, उत्पीडन गर्दै उनीहरूलाई अपहेलित गर्दै वा उनीहरूप्रति भेदभावको नीति अपनाउँदै आएको कुरा सत्य हो । पहाडका सामन्तहरूमा मात्र होइन, अरू जनतामा पनि मधेशी वा थारुहरूलाई अपहेलना गर्ने मानसिकता पाइन्छ । तराईका सबै मानिसहरूलाई ‘धोती’ भनेर अपमान गर्ने, उनीहरूको भाषा र संस्कृतिको अपमान गर्ने गरेको पाइन्छ । पहाडका मानिसहरूमा आम रूपमा यो सोचाइ पाइन्छ कि तराईका मधेशी वा थारुहरूलाई शोषण गर्ने उनीहरूलाई जन्मजात रूपमा अधिकार छ । ठूला सम्पन्न वा सामन्तले मत्र होइन, सामान्य आर्थिक स्थिति भएको मानिसले पनि तराईमा केही जग्गाको मालिक बन्यो भने पनि त्यसले मधेशी वा थारुलाई त्यही प्रकारले हेर्ने वा त्यही प्रकारले व्यवहार गर्न थाल्दछ । पहाडका मानिसहरूको त्यस प्रकारको प्रवृत्ति वा व्यवहारले तराईमा पहाडीप्रति अरू असन्तोष वा विरोधको भावना पैदा हुन्छ । त्यसले वस्तुगत रूपमा तराईमा सम्पूर्ण पहाड वा पहाडी जनताप्रति असन्तोष, विरोध वा वैमनस्यताको भावना पैदा गर्दछ । शताब्दियौँदेखि त्यस्तो हुँदै आएको छ । केही उदाहरणहरूमा जाऔँ । पञ्चायती कालमा सरकारले तराईमा हिन्दी पढाउने स्कूललाई बन्द गरिदिएको थियो । हाम्रो पार्टीले सरकारको त्यो नीतिको विरोध गरेको थियो । पूर्व उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सपथ लिंदा नेपालका कैयौँ पत्रपत्रिकाहरू समेतले त्यसको विरोध गरेका थिए । हाम्रो पार्टीले त्यस प्रकारको विरोधको विरोध गरेको थियो । वास्तवमा हाम्रो पार्टीले पञ्चायती सरकारको हिन्दी स्कूलमा प्रतिबन्ध लगाउने वा हिन्दीमा सपथ लिएको कार्यको विरोध गर्ने जस्ता कार्यहरूको मात्र होइन, तराईका मधेशी वा थारुहरूमाथि हुने सबै प्रकारको शोषण, उत्पीडन वा भेदभावको विरोध गर्दै आएको छ ।
खस कट्टरवाद नेपालको गम्भीर समस्या हो । खसहरू मूल रूपमा हिन्दू जाति होइनन् । खस आर्य वैदिक वा हिन्दू आर्यभन्दा बेग्लै जाति हो । वैदिक आर्यहरूद्वारा उनीहरू हजारौँ वर्षदेखि अपहेलित हुँदै आउनु परेको छ । खसहरूले हिन्दूहरूका विरुद्ध लामो सङ्घर्ष गर्ने गरेका छन् । महाभारत वा हिन्दू शास्त्रहरूमा त्यस प्रकारका थुप्रै उदाहरणहरू पाइन्छन् । तर अन्तमा खसहरूले आफूलाई हिन्दूकरण गर्दै गए । यहाँसम्म कि उनीहरूले आफूलाई खस पनि बताउन छाडे । त्यो उनीहरूमा देखा परेको हीन भावनाको परिणाम थियो । खसहरू गढवाल, कुमाउँको बाटो हुँदै नेपालमा आएका हुन् । गढवाल, कुमाउँमा कसैले आफूलाई खस लेख्दैनन् । नेपालमा मात्र खस पाइन्छन् । तैपनि आम रूपमा उनीहरूले आफूलाई खस लेख्दैनन् । उनीहरू सबैले अन्य हिन्दू थरहरू लेख्ने गर्दछन् । नेपालमा सत्तामा पुगेपछि वा आर्थिक रूपले सम्पन्न हुँदै गएपछि उनीहरूको सामन्त वर्गको रूपमा विकास भयो । त्यही स्थितिले खस कट्टरवादले पनि जन्म लियो । उनीहरूले तराईलाई एक प्रकारले उपनिवेशका रूपमा व्यवहार गर्न थाले । खस शासक वर्गको त्यस प्रकारको दृष्टिकोण र व्यवहारको अनुकरण गर्दै सबै खसहरूले तराई प्रति त्यही प्रकारको दृष्टिकोण अपनाउन थाले । त्यसरी तराईमा सबै पहाडीहरूप्रति जुन असन्तोषको भावना पाइन्छ, त्यो अकारण वा कृतिम मात्र होइन । त्यस प्रकारको भावना पैदा गर्नुका पछाडि स्वयं खसहरूको तराईका जनताप्रतिको शताब्दियौँ देखिको व्यवहार पनि जिम्मेवार छ ।
खसहरूले तराईका जनताप्रति मात्र होइन, विभिन्न जनजातिहरूमाथि पनि ठूलो पैमानामा शोषण र उत्पीडन गरे । मगर, गुरुङ, राई, लिम्बू, नेवार, थकाली आदि विभिन्न जातिहरू प्रति खसहरूले भेदभावपूर्ण दृष्टिकोण अपनाए । नेवार, थकाली वा राई–लिम्बुहरूको आफ्नै बलियो सामाजिक आधार भएकाले उनीहरूमाथि खसहरूको शोषण, उत्पीडन कम भयो । तर मगर, गुरुङ खसहरूद्वारा सबैभन्दा बढी शोषित, उत्पीडित भए । त्यही कारण हो कि जनजातिहरूमा पनि खसहरू प्रति व्यापक जातिगत असन्तोषको भावना पाइन्छ ।
खसहरूको अन्य जातिहरू माथिको शोषण, उत्पीडन वा भेदभावलाई मुख्य रूपले सामन्तवादी परिप्रेक्ष्यमा बुझ्नु पर्दछ । खसहरूले जातिगत रूपमा खालि अन्य जातिहरूमाथि मात्र शोषण गर्ने गरेको भए र आफ्ना जातिका मानिसहरूमाथि कुनै शोषण नगर्ने गरेको भए त्यसलाई जातिगत रूपमा बुझ्नु सही हुन्थ्यो । खस जाति पनि वर्गहरूमा विभाजित भएको छ । खसहरूको एउटा सानो समूह सामन्तवर्गमा परिणत भयो भने ठूलो सङ्ख्या शोषित वर्गमा परिणत भयो । त्यसरी खस जातिबाट उत्पन्न भएको सामन्त वा उच्च वर्गले सबैभन्दा बढी स्वयं आफ्नै जातिका मानिसहरूमाथि नै शोषण, उत्पीडन वा भेदभाव गर्दछन् । सामन्त वर्गले शोषण, उत्पीडन गर्दा अन्य जातिका मानिसहरूलाई मात्र शोषण, उत्पीडन गर्ने, आफ्ना जातिकालाई नगर्ने धर्म अपनाउँदैन । आफ्नै जातिका भए पनि सामन्त वर्गले मजदुर, किसानहरूमाथि ठूलो पैमानामा शोषण, उत्पीडन गर्दछ ।
नेपालमा विभिन्न जातिहरू वा पहाड र मधेशका बीचमा वैमनस्यताको स्थिति उत्पन्न गर्नका लागि खस कट्टरवाद पनि काफी हदसम्म जिम्मेवार छ । तर त्यो प्रधान पक्ष होइन । प्रधान पक्ष सामन्ती व्यवस्था हो । सामन्तवाद खालि खसजातिमा मात्र सीमित रहेको छैन । मगर, गुरुङ, नेवार, थकाली, राई–लिम्बु, मधेशी, थारु आदि जातिहरू पनि वर्गविहीन समूहहरू रहेका छैनन् । ती जातिहरू पनि शोषक र शोषित वर्गहरूमा विभाजित भएका छन् । त्यसको अर्थ हुन्छ, त्यहाँ जातीय एकताका ठाउँमा वर्गीय विरोध तीव्र बनेको छ । मधेशीले मधेशीलाई, थारुले थारुलाई, मगरले मगरलाई, गुरुङले गुरुङलाई, नेवारले नेवारलाई, शोषण र उत्पीडन गर्ने कार्य बढेर गएको छ । समग्र रूपमा सामन्तवादी व्यवस्थाबाट सबै जातिहरू उत्पीडित हुने गर्दछन् । त्यो अवस्थामा विभिन्न जातिहरूका बीचमा पनि जातिगत अन्तर्विरोधका ठाउँमा वर्गीय अन्तर्विरोध बढ्दै गएका छन् । हामीले तराईको समस्यालाई पनि त्यही परिप्रेक्षमा बुझ्नु पर्दछ । त्यसको समाधान वर्गीय रूपमा भइरहेको शोषण, उत्पीडनको अन्त हो र त्यो कार्य वर्गसङ्घर्षको माध्यमद्वारा नै हुन सक्दछ ।
पहाडी वा खस कट्टरवादी दृष्टिकोणका कारणले पहाड र तराईका बीचमा क्षेत्रीय भेदभाव पैदा भएको कुरा सत्य हो । तर त्यो प्रधान पक्ष होइन । प्रधान पक्ष यो हो कि तराईका जनता सबैभन्दा बढी सामन्ती व्यवस्थाद्वारा शोषित, उत्पीडित हुने गरेका छन् । त्यसैले त्यहाँको समस्याको समाधान पनि सामन्ती शोषण, उत्पीडनको अन्तद्वारा नै सम्भव छ र त्यसको उपाय भनेको वर्गसङ्घर्ष हो । तर तराईका जमिन्दार वर्गको सबैभन्दा चिन्ताको विषय आफ्नो सामन्ती स्वार्थको रक्षा हो । त्यसका लागि उनीहरूले पहाड र तराईका बीचमा वैमनस्यता बढाउने प्रयत्न गर्दछन् । जसले गर्दा शोषण, उत्पीडनका विरुद्धको शोषित जनताको वर्गसङ्घर्षलाई रोक्न सकियोस् ।
मधेशवादी भनेर हामीले सम्पूर्ण मधेशी जनता होइन, भारतीय विस्तारवादी स्वार्थका लागि काम गर्ने मुट्ठिभर तप्कालाई मात्र लिन्छौँ । उनीहरूले खस कट्टरवाद र सामन्ती व्यवस्थाद्वारा तराईका जनतामा पैदा भएको असन्तोष, जो निश्चित रूपले न्यायपूर्ण असन्तोष हो,लाई उपयोग गरेर आफ्ना स्वार्थ पूरा गर्न चाहन्छन् । उनीहरूका स्वार्थहरू भन्नाले, एकातिर, भारतीय विस्तारवादी उद्देश्यहरू पूरा गर्ने र, अर्कातिर, आफ्नो सामन्ती स्वार्थहरू पूरा गर्ने कुराहरू आउँछन् । तराईका जनताको न्यायपूर्ण मागहरूलाई पूरा गर्ने प्रयत्न गर्नुपर्दछ । त्यसका लागि सबैभन्दा बढी जोड दिनुपर्ने कुरा उनीहरूमाथि हुने शोषण, उत्पीडन वा उनीहरू प्रतिको भेदभावको अन्त हो । तिनीहरूलाई सही प्रकारले निराकरण गर्न नसक्दा भारतीय विस्तारवाद वा मधेशवादीहरूलाई तिनीहरूलाई उपयोग गरेर आफ्ना स्वार्थहरू पूरा गर्न बल पुग्दछ ।
वास्तवमा तराईका जनताको समस्या कुनै बेग्लै समस्या होइन । देशका सबै शोषित, पीडित जनता, जाति, वा जनसमुदायहरू प्रति जुन शोषण, उत्पीडन वा भेदभावहरू हुने गरेका छन्, त्यही प्रकारले तराईका मधेशी वा थारु जनतामाथि पनि शोषण, उत्पीडन हुने गरेका छन् । त्यो अवस्थामा देशका सबै शोषित, उत्पीडित जनताका साथै तराइका शोषित पीडित जनता माथिको शोषण, उत्पीडनको अन्त गर्न र उनीहरूका न्यायपूर्ण मागहरू पूरा गर्न सङ्घर्ष गर्नु पर्दछ । शोषित, उत्पीडित जनताका न्यायपूर्ण समस्याहरूको समाधान गर्नुको सट्टा त्यस प्रकारका अन्तर्विरोध वा समस्याहरूका नाममा जातीय, क्षेत्रीय विग्रह वा राष्ट्रिय विखण्डनको स्थिति पैदा गर्नु गलत हो र त्यस प्रकारका प्रयत्नहरूको दृढतापूर्व विरोध र सामना गर्नुपर्दछ ।

मिति ः २०७३ कार्तिक २३ गते